‘गणित विना शिक्षा पूरा हुँदैन, तर सरकारले गणित समाजको कुरा सुनेन’

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित हटाउन हुँदैन भन्दै गणित समाजले भोलि आन्दोलन गर्ने भएको छ ।
समाजले करिब ३ वर्ष अघिदेखि शिक्षामन्त्री र पाठ्यक्रम विकास केन्द्रलगायत सबन्धित निकायमा धाउँदा धाउँदा केही नभएपछि आन्दोलन नै गर्ने भएको हो ।

सरकारले चालू शैक्षिक सत्रदेखि लागू गरिने भनिएको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुपउपर संयुक्त धारणा सार्वजनिक गरेका छ ।

सरकारले आफैँद्वारा गणित विषयको समस्या र समाधानका लागि गठित गरिएको उच्चस्तरीय समितिको प्रतिवेदन हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन ।

निहित स्वार्थ परिपूर्तिका लागि विद्यार्थीलाई उत्तीर्ण गराउने मात्र उद्देश्य राखेर गणित विषयको महत्वलाई वेवास्ता गरी बिषय नै प्रतिस्थापन गर्ने दिशातिर उन्मुख भएको भन्दै समाजले आन्दोलन गर्ने भएको हो ।

नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले गणित विषय विज्ञान, व्यवस्थापन, मानविकीलगायत अन्य अधिकांश प्राविधिक अध्ययन संस्थान र संकाय आदिको मेरुदण्डको रुपमा रहेकोबारे सरकार जानकार हुँदाहुँदै पनि समस्या समाधान प्रति गम्भीर नभएकोले आन्दोलमा जानु परेको बताए ।

‘गणित विनाको उत्पादित जनशक्ति उच्च शिक्षा अध्ययनका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न अक्षम हुनेछन् । यसले राष्ट्रलाई दीर्घकालीन रुपमा अधोगतितिर उन्मुख गराउने स्पष्ट छ । गणित विषयको सर्वव्यापी भूमिकालाई कमजोर तुल्याउने, विद्यार्थीले मौलिक रूपमा चयन गरी अध्ययन गर्न पाउनुपर्ने अधिकारलाई संकुचन गर्ने, क्याम्पसमा विज्ञान तथा प्रविधि आदि विषय अध्ययनका लागि विश्वविद्यालयीय शर्तहरुको कुनै वास्ता नगरी एक पक्षीय रुपमा पाठ्यक्रम प्रारुप बनाई विश्वविद्यालयहरुमा प्रवेश गर्न चाहने विद्यार्थीहरुको भविष्यप्रति खेलवाड गर्न खोजिरहेको छ,’ काफ्लेले भने ।

विज्ञान विषयमा गणित नहुँदा के हुन्छ ?

विज्ञान विषयको भाषा नै गणित हो । विना भाषाको सिकाइको कल्पनै गर्न सकिँदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट सुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् ।

गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन्, नपढेका पनि हुन्छन् अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने पनि हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन ।

प्रतिक्रिया