वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सप्तरीका ती पुरुषमा भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएका उनीमा कोरोना संक्रमण पुष्टि र ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ र निमोनियाको लक्षण देखिएपछि अस्पतालले भदौ २८ गते वीपीमा रिफर गरेको थियो । उपचारका क्रममा उनको असोज ८ गते राति ११ बजे मृत्यु भएको हो ।

त्यस्तै मोरङका मृतक आन्द्राको क्यान्सरको बिरामी थिए । उनको यसअघि जटिल शल्यक्रिया भएको थियो भने शरीरको अन्य भागमा समेत क्यान्सर फैलिसकेको अवस्था थियो ।

उनी असोज ५ गते वीपी अस्पतालमा भर्ना भएका थिए । असोज ८ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई वीपीकै कोभिड अस्पताल रिफर गरिएको थियो । उनको उपचारका क्रममा असोज ८ गते साँझ ८ः३० मा मृत्यु भएको हो ।

प्रतिक्रिया