मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

लगातारको वर्षा किसानका पीडा : भर्खरै रोपिएको तरकारी सोत्तर 

महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रँदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो ।

अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ ।
घिरौँला, झिँगनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका लहरे तरकारीका बेला पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् ।

भदौ निगल्दोको वर्षा र अहिले लगातार तीन दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ ।  किसानका खेतबारीमा तरकारी नभएपछि बजार उपभोक्ता पनि महँगाइको मारमा परेका छन् ।

महोत्तरीका १५ स्थानीय तहका कार्यालयको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आएको छ ।

लगातारको वर्षाले जिल्लाका ग्रामीण सडक मात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् ।  बर्दिबास–रामगोपालपुर–जलेश्वर, सम्सी–मनरा–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिबास सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् । तरकारी बाली र सडक यातायातमा असजिलो बढे पनि पछिल्लो वर्षाले पोटाउन लागेको धानबालीलाई भने अमृतकै काम गरेको किसान बताउँछन् ।

जिल्लामा यसपटक ४० हजार हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...