मिटरब्याजी विजयको हर्कत : ‘नलिएको ऋृणबापत् तिराए १३ लाख !’

- पप्पु यादव
धनुषा । महोत्तरीको औहरी नगरपालिका १ औरही बजारका नामुद मिटरब्याजी विजय चौधरीको अर्को कालो धन्दाको खुलासा भएको छ । चर्को ब्याजदरमा ऋृण लगाएर गाउँका झण्डैँ आधा दर्जन गरिबलाई प्रताडित गरेका सुदखोर विजयले एकजना साक्षीसँग नै तमसुक बनाएर उठिबास गराएको खुलासा भएको हो ।
प्रतिबजार हजारको चर्को ब्याजदरमा ऋृणको धन्दा गर्ने विजयले ऋृण दिएको जमानत बसेकी औरही बजारकी ५३ वर्षीया तारामण्डल खत्वेलाई श्रीसम्पती बेच्न बाध्य बनाई घरपरिवारलाई नै विस्थापित गराएका हुन् ।
ताराले २०७४ को पुस र माघ महिनामा नातामा भाईबुहारी पर्ने स्थानीय ३० वर्षीया ममता मण्डललाई ७० हजार रुपैयाँ घरखर्चको सुदखोर विजयबाट प्रतिबजार हजारको ब्याजदरमा ऋृण दिलाएकी थिइन् । दुई महिनाभित्र ऋृणी ममताले ब्याजसहित ऋण फिर्ता नगरेको भन्दै सुदखोर विजयले ब्याजकाे स्याज जोडेर २०७४ फागुन ५ गते १ लाख ७३ हजार २ सय साँवा पुर्याए । सोहि दिन तारा र ममतालाई बोलाएर सुदखोर विजयले तारासँग १ लाख ७३ हजार २ सय पुर्याएको साँवाकाे चारगुणा बढी अर्थात् ६ लाख ९२ हजार ८ सयको तमसुक गराएर तारालाई साहु खडा गरी ममतासँग तमसुक गराइदिएका थिए ।
एकवर्ष अघि २०७३ मा १ को मितिमा ताराले आफूसँग त ६ लाख ९२ हजार ८ सय रुपैयाँ सयकडा १० प्रतिशत ब्याजदरमा ऋृण लिएको तमसुकमा उल्लेख गराएका थिए । तारालाई ममतासँग त्यसको भोलिपल्ट माघ २ गते त्यति नै रकम १० प्रतिशत ब्याजदरमा दिएको ब्यहोरा तमसुकमा उल्लेख गराएका थिए ।

सुदखोर विजयले तारालाई साहु खडा गरी ममतासँग बनाइदिएको कपाली तमसुकको तल्लो भागमा भने १ लाख ७३ हजार २ सय रुपैयाँ ऋण प्रतिबजार ३ हजार ५ सयको दरले ५ फागुन २०७४ मा लिएको ब्यहोरा उल्लेख छ । अर्थात् प्रत्येक साताको दुईदिन मंगलबार र शुक्रबार लाग्ने बजार अनुसार ५० हजार रुपैयाँको एक बजारको ब्याज १ हजार हुन्छ । जुन १७२ प्रतिशत ब्याजदर हो ।
विजयले तारासँग गराएको तमसुकको तलको भाग च्यातेर जिल्ला अदालत महोत्तरीमा तारमाथि मुद्दा हालेका थिए ।
ममताले ऋृण लिएको तीन महिनाभित्रै उनका पति रामचन्द्र मण्डलले मलेसियाबाट रकम पठाएर ७० हजारको प्रतिबजार हजारको ब्याजसहित जोडेर सुदखोर विजयलाई १ लाख ३० हजार बुझाई चुक्ता गरेका थिए । तर विजयले भने ताराको कागज फिर्ता गरेनन् ।
ऋृण लिएकी ममतताले विजयबाट आफूले ऋण लिएको र विजयले ताराबाट र ताराले आफूबाट कागज बनाएको बताइन् । पतिले विदेशबाट पैसा पठाएपछि १ लाख ३० हजार चुक्ता गरिदिएपनि तारासँग बनाएको तमसुक फिर्ता नगरेको र उनलाई बर्बाद गरिदिएको ममताको भनाइ छ ।
सोहि तमसुकको तल्लो भागमा उल्लेख भएको ब्यहोरा च्यातेर सुदखोर विजयले ताराले मिति २०७३ माघ १ गते दिन लिएको ६ लाख ९२ हजार ८ सयको १ वर्ष ७ महिना १९ दिनको १० प्रतिशत ब्याजदरले १ लाख ३ हजार ३ सय गरी साँवा र ब्याज ८ लाख ६ हजार १ सय रुपैयाँ अशुल गरी पाउँ भनि २६ भदौ २०७५ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा गरेका थिए ।
मुद्दालाई गाउँमै मिलाउन भनेपछि ताराले डेढवर्षको अवधिमा ८ कठ्ठा खेत, ५ धुर घडेरी र एउटा ट्याक्टर बेचेर १३ लाख रुपैयाँ तिर्न विवश भएकी छन् । औरही बजारको दशधुर घडेरीमा चारछोराबुहारी र नातिनातिनासँगै औरही बस्दै आएकी ताराको घरमा सोही ऋणको कारण गएको चैत महिनामा ठूलो पारिवारिक विवाद तथा कुटपिट भएको थियो । जसमा तारा समेत गम्भीर घाइते भएकी थिइन् भने तारालाई बचाउने पक्षमा उभिएका उनका पति रामपृत र कान्छो छोरा पनि घाइते भएका थिए । विवादकै कारण विस्थापित भएर तारा, पति रामपृत र कान्छो छोरा श्यामको परिवार विस्थापित भएर अहिले औरही बजार भन्दा पाँचसय मिटर पूर्व अरुको जग्गामा घर बनाएर चार महिनादेखि बस्दै आएका छन् ।
ताराले जीवनमा कल्पना नै नगरेको संकट मिटरब्याजी विजयले आफ्नो परिवारमाथि पारिदिएको दुखेसो गरिन् । ‘कसैलाईं ऋृण दिलाएर जमानत बस्नुको यति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने मैले कल्पना गरेकी थिइनँ । नलिएको ऋृणको समेत घरघडेरी बेचेर विजयलाई १३ लाख तिर्नुपर्यो । मेरो परिवार बर्वाद भयो’, ताराले तमसुकको प्रतिलिपी देखाउँदै भनिन् ।
तारासँग फर्जी तमसुकबाटै ऋृण चुक्ता गराउन समाजले मिटरब्याजी बिजयलाई नै होस्टेमा हैँसे गरे । लिएको ऋृण तिर्नैपर्छ भन्ने पक्षमा वडा नं. १ का वडाध्यक्ष राजकिशोर चौधरी, स्थानीय प्रहरी, भरभलादमी सबै उभिए । आफुहरु गरिब, दलित एवम् कमजोर वर्ग भएकै काण यस्तो भोग्नु परेकाे पीडित ताराको गुनासो छ ।

विजयलाई ब्याजको स्याज गरेर तिर्नु परेको फर्जी ऋृणको कारण अझै साहुमहाजनसँग लिएको ६ लाख ऋण तिर्न बाँकी रहेको ताराका छोरा श्यामले बताए । विस्थापित भएपछि के खाने, के लगाउने समेत समस्या ताराको परिवारमा छ ।
चर्को ब्याजमा ऋृण लगाएर फिल्मी शैलीमा विस्थापित गर्छन् गरिबलाई
सुदखोर विजयबाट प्रताडित हुने जमानत बस्ने तारा एकल पात्र हाेइनन्, तारा भन्दा अघि चर्को ब्याजमा ऋृण दिएर विजयले कुटपिट, यातना, धाकधम्की र सम्पति कब्जा गरी गाउँका झण्डैँ आधा दर्जन परिवारको उठिबास नै गराइदिएका छन् ।
उनको शोषण, दमनबाट गाउँका नथुनी साह, मदन चौधरी, लक्ष्मण झा, राजु राउत घर छाडेर भागिसकेका छन् । विस्थापित हुने मदन चौधरीको केहि समय पश्चात मृत्यु भएको थियो । स्थानीयका अनुसार लिएको ऋृण समयमा फिर्ता नगर्दा विजयले उनलाई शौचालयमा थुनेर कुट्ने गरेका थिए । झण्डैँ एक महिनाअघि स्थानीय ऋणी गुदरी मण्डलको घरमा पसेर ऋृण फिर्ता गर भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट पासेदेवी गम्भीर घाइते भएकी थिइन् । उनले कुटपिट घटना विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिँदा विजयले गाउँमै गुदरीसँग भैँसी लिएर घटना मिलाएका थिए ।
विजयले १७२ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋृण लगाउने, ऋणको दश गुणासम्मको तमसुक बनाउने, ऋृण चुक्ता गर्दा तमसुक फिर्ता नदिने, समयमा ब्याजसहित ऋण चुक्ता नगर्नेलाई घरमा पसेर कुटपिट गर्ने, शौचालयमा थुनेर यातना दिने, श्रीमती उठाइदिने धम्की दिने जस्ता गतिविधि गर्दै आएको स्थानीयको भनाइ छ ।
विजयले यस्तो धन्दा विगत पाँच वर्षदेखि चलाउँदै आएका छन् । उनको यस कार्यमा स्थानीय रामबाबु चौधरी, शुरेश साह, सन्तोष साह, धिरेन्द्र साह, रामपुकार साह, रविन चौधरी, लेखनदास समेत रहेको स्थानीय सामुदायिक विद्यालयका शिक्षक जयशिव यादव लगायतको टिम सक्रिय रहेको एक स्थानीयले बताए ।
रामबाबु चौधरी गएको २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ क बाट प्रदेश सांसदमा चुनाव लडेका थिए । लिएको ऋृण कसैले समयमा तिर्न नसके विजय चौधरीको यो समुहले धाकधम्की दिने, परपञ्चायत गर्ने, गवाही दिने, थाना तथा प्रहरी प्रशासन धाउने, अदालत जाने जस्ता काम गरिरहेको स्थानीयको भनाइ छ ।








