बागमती प्रदेशका थप २३८ विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विस्तार

  • ध्रुवराज खनाल

चितवन । बागमती प्रदेश सरकारले प्रदेश भित्रका हरेक स्थानीय तहमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विस्तार गरेको छ ।

असोज ६ गतेको मन्त्रीस्तरीय निर्णयले प्रदेश भित्रका थप २३८ वटा विद्यालयमा यो कार्यक्रम विस्तार गरेको हो । अब यो कार्यक्रम ३५९ वटा विद्यालयमा यसै बर्षदेखि लागू हुनेछ । बागमती प्रदेश सरकारले पहिलो बर्ष परिक्षणको रुपमा २० वटा विद्यालयमा उक्त कार्यक्रम लागू गरेकाे थियाे भने दोस्रो वर्ष भने एक सय एक वटा विद्यालयमा लागू भएको थियो ।

यो आर्थिक बर्षमा १२१ वटा स्थानीय तहमा थप दुई-दुई वटा विद्यालयमा यो कार्यक्रम विस्तार गरिएको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले मकालु खबरलाई जानकारी दिए । माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम लागू हुन्छ । बागमती प्रदेशमा ६ सय वटा माध्यमिक विद्यालय छन् ।

अर्को बर्ष बाँकी विद्यालयमा यो कार्यक्रम बिस्तार गरिने मन्त्री दुलालले बताए । स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम अनुसार यो कार्यक्रम लागू भएको भन्दै मन्त्री दुलालले यो कार्यक्रम मार्फत् बालबालिकाको स्वास्थ जीवनशैली, खानपान, शारीरिक , मानसिक अवस्था वृद्धि भए/नभएको पहिचान गर्ने, स्वास्थ्य समस्याको पहिचान गर्ने, छात्राहरुको महिनावारीका बारे परामर्श दिने उद्देश्यका साथ यो कार्यक्रम लागू गरिएको बताए । कार्यक्रम लागू भएका विद्यालयहरुमा विद्यार्थीहरुको आहार बिहारमा परिवर्तन आएको, विद्यालय वरिपरि जंकफुड हटाउन सफल भएको, स्वास्थ्य जीवनशैलीमा परिवर्तन आएको, महिनावारी हुँदा भन्न लाज मान्नेहरु खुल्न थालेको मन्त्री दुलालकाे दाबी छ ।

चितवनको १४ विद्यालयमा कार्यक्रम विस्तार

चितवनको थप १४ वटा विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम बिस्तार भएको छ । प्रत्येक स्थानीय तहमा दुई-दुई वटा विद्यालयमा साे कार्यक्रम लागू भएको हो । भरतपुर महानगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय जगतपुर र आदिकवि माध्यमिक विद्यालय भरतपुर, खैरहनीको कठार मावि र खैरहनी मावि, रत्ननगरको नेपाल मावि र जनजागृती मावि, राप्तिको भन्डारामा मावि र वीरेन्द्र आदर्श माविमा सो कार्यक्रम थप गरिएको हो ।

त्यस्तै कालिका नगरपालिकाको रास्ट्रिय मावि मझवांङ र मावि रेडक्रसग्राम, माडिको सोमेश्वर मावि बरुवा र माडी मावि बसन्तपुर तथा इच्छाकामना गाउँपालिकाको जनप्रिय मावि काउले र माझ गाउँ माविमा एक विद्यालय एक नर्स कार्यक्रम बिस्तार भएको मन्त्री दुलालले बताए ।

प्रतिक्रिया