अब नेपालमै कोरोनाको औषधि उत्पादन शुरु, देउराली जनताले पायो अनुमति

काठमाडौं । नेपालको अग्रणी औषधि उत्पादक देउराली जनता फर्मास्यूटिकल्सले कोभिड १९ का सघन बिरामीको उपचारमा प्रयोग हुने औषधि फाभिर–२०० ट्याब उत्पादन शुरु गरेको छ ।

कम्पनीले बुधबार (आज) विज्ञप्ति निकाल्दै यसबारे पुष्टि गरेको हो । उक्त उत्पादनलाई औषधि व्यवस्था विभागले असोज ६ गते अनुमति दिएको छ ।

‘हामीले नेपाल सरकारबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलो पटक फाभिर–२०० ट्याब औषधि उत्पादन शुरु गरिसकेको छौँ ।’ कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले मकालु खबरलाई भने, ‘कोभिडको उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट असोज ६ गते स्वीकृति प्राप्त भएको छ ।’

कोभिड–१९ का बिरामीहरुले उपचार र प्रयोगको लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुने गरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।

महामारीको यस विषम परिस्थितिमा फाभिर–२०० ट्याब नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउन सम्पूर्ण तयारी गरिसकेको निर्देशक शर्माले बताए ।

प्रतिक्रिया