दशैंका लागि बजार मूल्यभन्दा २० प्रतिशत सस्तोमा खसीबोका बेच्दै खाद्य, अरु वस्तुमा कति ?

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष करिब ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ । यस वर्ष कम्पनीले दशैंमा बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा १५ देखि २० प्रतिशत सस्तोमा हुने भएको छ ।

अघिल्ला वर्षहरुमा पनि कम्पनीले बजार मूल्यभन्दा सस्तोमा नै खसीबोका तथा च्याङ्ग्रा बिक्री गरेको थियो । कोरोनाको कारण यस वर्षको दशैंमा खसीबोका तथा च्याङ्ग्रा माग कम हुने भएर अघिल्लो वर्षभन्दा केही कम ल्याउने कम्पनीले बताएको छ ।

हरेक वर्ष सर्वशुलभ रुपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष पनि करिब ३ हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । खाद्यले खरिद गरेको खसीबोका र च्याङ्ग्रा बजार मूल्यभन्दा २० प्रतिशत सस्तोमा मूल्यमा बिक्री गर्ने भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले यो दशैंका लागि १४ सय च्याङ्ग्रा र १६ सय खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने बताए । यस पटक खाद्यले खसीबोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

गत वर्ष सोही परिमाणको खसीबोका तथा च्याङ्ग्राका लागि कम्पनीले कूल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको सुवेदीले बताए ।

‘यस वर्ष कोरोनाको कारण माग कम हुने भएकोले खसीबोका तथा च्याङ्ग्रा केही कम ल्याउँकी भनेर छलफल भइरहेको छ । हामीले बजार मूल्यभन्दा १५ देखि २० प्रतिशत सस्तोमा बिक्री गर्ने छौं,’ सुवेदीले मकालु खबरसँग भने । कति संख्यामा खरिद गर्ने र कुन ठाउँबाट किनेर ल्याउने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए ।

कम्पनीले विगत वर्षहरु जस्तै यो वर्ष पनि चामल, दाल, तेल जस्ता खाद्यवस्तु पनि बिक्रि गर्ने भएको छ । यस्तै सहुलियत मूल्य पसल पनि सञ्चालन हुने छ । बजरमाभन्दा कम्पनीले बिक्री गर्ने वस्तुको मूल्य केही सस्तो हुने गरेको छ । संस्थानले हरेक वर्ष दशैं, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया