चीनले विश्वमा कोरोना फैलायो, स्थिती भयावह हुँदैछ: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा दुई लाख नाघ्नु भयावह भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भाइरस विश्वभर फैलाउन चीन जिम्मेवार रहेको भन्दै चीनमाथि आरोप पनि लगाए । त्यसप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि अमेरिकामा ६८ लाख भन्दा बढी पुगेको छ जुन देश विश्वभर अहिले पहिलो नम्बरमा छ । नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइ यो नयाँ तथ्याङ्क देखा परेको हो । तर राष्ट्रपति ट्रम्पले आफ्नो हस्तक्षेपले मृत्यु हुनेको सङख्या कम गर्न मद्दत गरेको दाबी गरे ।

ट्रम्प प्रशासनको आलोचना
गत मार्चमा राष्ट्रपति ट्रम्पले मृत्यु हुनेको सङ्ख्या १ लाखदेखि २ लाखसम्म रहे आफ्नो देशले “राम्रो काम गरेको हुने” बताएका थिए ।

फेब्रुअरीमा देशभरमा जम्मा १५ जना सङ्क्रमित देखिँदा उनले केही दिनमै सङ्क्रमितको सङख्या “शुन्य नजिक” पुग्ने अनुमान गरेका थिए । अमेरिकामा पहिलो सङ्क्रमितको घटना ज्यानुअरी महिनामै पुष्टि भएको थियो । त्यसयता भाइरसको नियन्त्रण र रोकथामको विषयलाई लिएर ट्रम्प प्रशासनको पटकपटक आलोचना हुँदै आएको छ ।

आउँदो नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटका तर्फबाट उम्मेदवार रहेका जो बाइडनले पनि कोरोनाभाइरसको नियन्त्रणमा ट्रम्पको कदमको आलोचना गर्दै आएका छन् । उनले भने, “डोनल्ड ट्रम्पको झुट र विगत छ महिनामा उनको असक्षमताका कारण इतिहासमै धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन् ।”

अमेरिका र चीनको वाकयुद्ध
यसैबीच ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध उग्र हमला गरेका छन् । पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनमाथि विश्वमा कोरोनाभाइरस फैलाएको आरोप लगाए ।

चीनले पनि त्यसप्रति कडा प्रतिक्रिया जनाएको छ। संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूतले हजारपटक झुट बोले पनि त्यो झुट नै हुने बताए । सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरे ।

ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको पनि दाबी गरेका थिए जुन टिप्पणीलाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गर्दै आएको छ । –बीबीसी

प्रतिक्रिया