चीनले सधैं नेपालको सार्वभौमिकताको सम्मान गर्छः दूतावास

काठमाडौं । चीन-नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दूतावासले दावी गरेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै सो दावी गरेका हुन् ।

नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको हो ।

‘सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको छ,’ दूतावासका प्रवक्ता वाङ सीयओलङले भनेका छन्– ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ ।’ उनले चीन र नेपाल नजिकको छिमेकी रहेको उल्लेख गर्दै चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको बताएका छन् ।

यसअघि हुम्लामा सबै सुरक्षा निकायका अधिकारीसहित प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि लाप्चा बगर गएको थियो । तर चिनियाँ सेनाले भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भनेपछि नेपाली टोली फर्किएको थियो ।

उक्त टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूभाग भएको बताएपछि दुई पक्षबीच वार्ता हुन सकेन । तर, नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ ।

                 सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टोली उक्त स्थानमा गएको थियो

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए । हाल चिनियाँ पक्षले भवनहरू बनाएको वडा नम्बर ६ मा तीनवटा गाउँहरू भए पनि ती चिनियाँ सीमाभन्दा टाढा छन् । झन्डै डेढ सय घरधुरी रहेको उक्त क्षेत्रबाट टिपर चढेर चीनसँगको सीमामा पुग्न तीन घण्टा लाग्ने बताइन्छ ।

उत्तर र पश्चिम दिशामा तिब्बततर्फ सीमा रहेको नाम्खा वडा नम्बर ६ मा जाङ, हल्जी र तिल गाउँहरू छन् । उक्त वडाको केन्द्र हल्जी हुम्ला सदरमुकामबाट ५० कोस टाढा छ । यसअघि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल नेतृत्वको टोलीले स्थलगत भ्रमणका क्रममा उक्त स्थानमा चिनियाँ पक्षले भवनहरू बनाएको फेला पारेको थिए ।

प्रतिक्रिया