विभिन्न दुर्घटनामा चार जनाकाे मृत्यु, कञ्चनपुरमा एकसहित तीनजना मृत फेला

काठमाडौं । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-७ हल्दुखाल दुर्गा टोल बस्ने ४४ वर्षीय डम्मर चन्द आफ्नै घरभन्दा करिब ५ सय मिटर टाढा खेतमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस्तै कैलाली, गोदावरी नगरपालिका-६ बस्ने ५८ वर्षीय धन बहादुर ऐर घरबाट करिब १ सय ५० मिटर टाढा धान खेतमा सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् भने धादिङ, धुनिबेशी नगरपालिका-९ सिक्रेखोला बस्ने राजकुमार रानाभाटको छोरा ३ वर्षीय अनुराज रानाभाट सोही ठाउँस्थित सिक्रेखोलामा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस्तै नवलपरासी (पूर्व) काे देवचुली नगरपालिका-१६ बस्ने लिल बहादुर सारू मगरकी छोरी १७ वर्षीया जिम माया सारू मगरको सोही ठाउँस्थित खहरे खोलाले सोमबार बगाई मृत्यु भएको छ ।

बाख्रा चराउन गएको अवस्थामा उक्त खोला तर्ने क्रममा बगाएकोमा उद्दार गरी पुरानो मेडिकल कलेज भतरपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यसैगरी गुल्मीकाे ईश्मा गाउँपालिका-२ रातचौरमा सोमबार राति आएको पहिरोमा परेर सोही गाउँपालिका स्याला बस्ने ३९ वर्षीय प्रेम बहादुर कुमालको मृत्यु भएको छ । उक्त पहिरोका परेर २ जना बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरुको खोजी गर्ने क्रममा मंगलबार बिहान कुमालको शव फेला परेको हो । पहिरोमा परेर बेपत्ता भएका स्थानीय युवराज कुमालको छोरा ५ वर्षीय सफल कुमालको खोजी भइरहेको छ ।

उता लमजुङकाे बेशिसहर नगरपालिका-६ पुमागाउँ बस्ने ४२ वर्षीय सन्ते बिकको चट्याङ् लागेर सोमबार राति मृत्यु भएको छ । जेठा बुबाको घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका उनको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यी सबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया