१९ दिनदेखि भेन्टिलेटरमा उपचाररत संक्रमित महिलाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका-५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

५० वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् । हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको हो ।

नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् ।

एक सय ५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् । –रासस

प्रतिक्रिया