पतिले पेट चिरिदिएकी गर्भवती महिलाले जन्माइन् मृत शिशु

काठमाडौं । भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ । ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ ।

ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन् । पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन् । घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो ।

के छ महिलाको अवस्था ?
प्रहरीले बताएअनुसार पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ । उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो ।

उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्‍याइएको थियो । स्थानीय सञ्चारमाध्यमलाई ती पुरुषले धारिलो हतियार प्रहार गरेको तर त्यसले उनलाई गम्भीर चोट लाग्न सक्छ भन्ने कुरा भने नचिताएको बताएका छन् ।

“मेरा पाँच छोरी छन् । एउटा छोराको मृत्यु भएको छ । बालबालिका ईश्वरका देन हुन भन्ने मलाई थाहा छ । अब जे हुनु थियो त्यही हुन्छ,” उनले भने । प्रहरी अनुसन्धान जारी छ ।

लैङ्गिक असमानता किन ?
भारतीय अभिभावकहरूमा छोरीको सट्टा छोरा जन्माउने चाहनाले गर्दा त्यहाँ महिला र पुरुषको सङ्ख्यामा असमानता देखिएको छ ।

भारतमा पछिल्लो ५० वर्षमा करिब चार करोड ६० लाख बालिका “गायब भएको” एउटा राष्ट्रसङ्घीय निकायको प्रतिवेदनमा उल्लेख छ । प्रत्येक वर्ष करिब ४,६०,००० बालिकाहरू गर्भपतनको सिकार हुन्छन् । त्यस्तै लापरबाहीका कारण छोरीहरूको जन्म पछि मृत्यु हुने दर पनि उच्च छ ।

सन् २०१८ को भारत सरकारकै एउटा प्रतिवेदनका अनुसार छोरा पाउने चाहनाका कारण दुई करोड १० लाख केटीहरूको “इच्छाविपरीत” जन्म भएको छ । अर्थ मन्त्रालयको प्रतिवेदनका अनुसार कैयौँ दम्पतीले छोरा नपाउँदा सम्म बच्चा पाउने गरेको पाइएको छ ।

बीबीसीकी एक सम्पादक गीता पाण्डेका अनुसार छोराले भविष्यमा आर्थिक रूपमा परिवारलाई सघाउने, बुढेसकालमा अभिभावकलाई हेर्ने र वंश अघि बढ्ने विश्वासका कारण धेरैले छोरा नै चाहन्छन् । अर्कोतर्फ छोरी विवाह गरेर अर्काको घर जाने र अभिभावकहरूले दाइजोस्वरूप ठूलो धनराशि खर्च गर्नुपर्ने हुँदा समस्या बढेको बताइन्छ । –बीबीसी

प्रतिक्रिया