एकिकृत राप्रपाको चुनाव चिन्ह हलो, कमल थापाले भने- ‘एकता जोगाउन सम्झौता गरें’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा चुनाव चिह्नसम्बन्धी विवाद सुल्झिएको छ । ६ महिना पहिले एकता भएको एकिकृत राप्रपाले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको हो ।

दुई पार्टीबीच एकिकरण गर्ने सहमति भएपनि चुनाव चिन्ह गाई बनाउने वा हलो भन्नेमा विवाद रहँदै आएको थियो । तर आइतबार पार्टीका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले चुनाव चिन्ह हलो बनाउने सहमति गरेका हुन् ।

आज केन्द्रीय समिति बैठक बस्‍ने भएको छ भने निर्वाचन आयोगमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ नाममा नयाँ दलका रुपमा दर्ता गर्ने तयारी छ । राप्रपामा अब कमल थापा र पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष रहनेछन् । हाललाई ३२७ सदस्यीय कार्यसमिति रहने भएको छ ।

यसैबीच अध्यक्षमध्येका एक कमल थापाले आफ्नो ट्वीटरमा चुनाव चिन्हमा सहमति भएको जनाएका छन् । ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो बाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी/शुभचिन्तकहरुमा अपिल गर्दछु’ उनले भनेका छन्- ‘अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’

प्रतिक्रिया