मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु (भिडिओ सहित)

बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट, असोज ७ गते सुनुवाइ हुँदै
बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले भर्खरै राष्ट्रिय सभामा मनोनित भएका गौतमविरुद्ध सोमबार (आज) रिट दर्ता गराएका हुन् । नेकपाका उपाध्यक्षसमेत रहेका गौतम केही दिनअगाडि राष्ट्रिय सभामा मनोनित भएका थिए भने पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी माग गरेका गौतमलाई मन्त्री बनाउन नहुने कुरा संविधानविद्सँगै जानकारहरुले बताउँदै आएका छन् । उनले पछिल्लो निर्वाचनमा बर्दियाबाट चुनाव हारेका थिए ।
कोरोनाको कारण ६ महिना बन्द भएको आन्तरिक उडान शुरु, अनुगमन गर्दै मन्त्री
कोरोनाको कारण बन्द भएको आन्तरिक उडान आजबाट शुरु भएको छ । महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि ६ महिनापछि आन्तरिक उडान आजबाट शुरु भएको हो । आजबाट शुरु भएको आन्तरिक उडानको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नै अनुगमनमा निस्केका थिए । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा सुरक्षित हवाइ उडानका लागि सबैखाले स्वास्थ्यको मापदण्ड पूरा गरी आन्तरिक उडान शुरु भएको बताए । कोरोना सम्भावित जोखिमलाई मध्यनजर गरेर सरकारले गत चैत्रदेखि आन्तरिक तथा बाह्य उडानमा रोक लगाएको थियो ।
आजको कोरोना अपडेटः थप १६ जना बिते, संक्रमितको संख्या बढेको बढ्यै
कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको बताए । संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ । यसैगरी गत २४ घण्टामा थप १,००५ जना डिस्चार्ज भएर घर फर्केका छन् । आज थपिएका संक्रमितहरुमध्ये ६ सय ७४ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।
नेकपा सचिवालय बैठक भोलिसम्मको लागि स¥यो
सोमबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलिसम्मको लागि सरेको छ ।
आज बस्ने गरी आइतबार जनसंगठनको कार्यालय पेरिसडाँडामा सकिएको बैठक पुनः भोलिसम्मको लागि सरेको हो ।
सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाटपछि बैठक मंगलबार १२ः३० बजे बस्ने भएको हो । यसअघि पेरिडाँडामा बस्ने भनिएको बैठक भोलि भने प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै बस्ने प्रवक्ता श्रेष्ठले बताए ।
‘कुशासन, भ्रष्टाचार र राष्ट्रघातका कारण राज्यको असफलता पुष्टि भयो’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले राज्यको असफलता पुष्टि गरेको बताएको छ । आइतबार विज्ञप्ति जारी गरेको विप्लवले असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्य व्यवस्थाको परिवर्तन नै मुख्य भएको दावीसमेत गरेको छ । विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध गरिएपछि विप्लवका सयौं कार्यकर्ताहरु पक्राउ परेका छन् ।
सरकारलाई विकास समितिको निर्देशन– ‘कार्तिक ७ गतेसम्ममा क्लिनफीड लागू गर्नु’
संसदको विकास तथा प्रविधि समितिले आगामी ७ कार्तिकसम्ममा क्लिनफीड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले ७ कार्तिकसम्ममा विज्ञापन बोर्ड गठन गरी क्लिनफीड लागू गर्नु भनेको छ । राष्ट्रपतिबाट प्रमाणित भई कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन, २०७६ आगामी ७ कार्तिकभित्र बोर्ड गठन गरी क्लिनफीड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । विज्ञापनरहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।
ऊर्जा मन्त्रालयले भन्यो–‘पूर्वजानकारी विना विद्युत नियमित नभए खबर गर्नु’
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा नियमित नभए तत्काल खबर गर्न आग्रह गरेको छ ।
पूर्वजानकारी विना विद्युत सेवा नियमित नभए ऊर्जामन्त्री वर्षमान पुनको सचिवालय या विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले अनुरोध गरेका छन् । उनले त्यसका लागि मन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बरमा सम्पर्क गर्नसमेत भनेका छन् ।
रहेनन् कीर्तिमानी ‘हिम चितुवा’
‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार आङरिताको सामेबार बिहान १० बजे निधन भएको हो । उनका अनुसार आङरिताको निधन जोरपाटीस्थिति आफ्नो छोरीको घरमा भएको हो । शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट ग्रसित थिए ।
शेर्पाले १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका थिए ।
आइपीएलः रोमाञ्चक सुपर ओभरमा दिल्लीको जित
इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरको खेलमा हराएको हो । यसअघि दिल्लीले दिएको १५८ रनको लक्ष्य पछाएको पञ्जाबले निधारित २० ओभरमा पञ्जाबले पनि ८ विकेट गुमाउँदै १५७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले ८९ बनाएका थिए । मयंकले ६० बलमा ८९ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको हो । आइपिएल अन्तर्गत आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ । खेल साँझ ७ः४५ बजे हुँदैछ ।
भारतमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु
भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ । २० जनाको जीवितै उद्धार गरिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुन सक्ने अनुमान गरिएको छ ।
अहिले उद्धार जारी रहेको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ ।








