बन्द खुलेपनि व्यापार शून्य : व्यापारी भन्छन्–‘नाफा कमाउनु त टाढाको कुरा हो, भाडा तिर्ने चिन्ताले निन्द्रा लाग्दैन’

काठमाडौं । करिब ७ महिना लामो बन्दपछि विस्तारै बजारमा चहलपहल बढ्दै गएको छ । तर बन्दको कारणले धेरैको रोजगारी गुमेकाले कमाइ भने बन्द जस्तै छ । व्यापारीहरुले पसल खोलेपनि पसलमा व्यापार भएको छैन ।

गत बर्षको चैत ११ गतेदेखि बन्द भएको बजार दशैं नजिकिँदै गर्दा खुलेको भएपनि व्यापार भने सामान्य नै छ । नेपालमा धेरै दैनिक उपभोग्य सामाग्री बिक्री हुने एक प्रमुख सिजन दशैं पनि हो । लामो समय पसल बन्द गरेर राखेका व्यापारीहरुले दशैं नजिकिँदै जाँदा पसलमा व्यापार राम्रो हुने अनुमान गरेका थिए ।

तर, कोरोना महामारी फैलिन नदिन सरकारले गरेको बन्दको विरोध गर्दै आएका व्यापारीहरु पसल खुलेपनि व्यापार नभएका कारण चिन्ताले राति सुत्नसम्म पनि नसकेको बताउँछन् ।

राजधानीभित्र न्यूरोड, ठमेल, असन र महाबौद्धलाई प्रमुख व्यापारिक केन्द्रकै रुपमा चिनिन्छ । तर, त्यही व्यापारिक केन्द्रमा व्यापार गर्ने व्यापारीहरु अहिले कसरी सटर भाडा तिर्ने भनेर चिन्तामा छन् ।

व्यापार राम्रो हुँदा भाडा तिर्न र घर चलाएर केही पैसा बचाएका व्यापारीहरु अहिले समस्यामा पर्दै गएका छन् । एकातिर सरकारले कर तिर्न ताकेता गरेको र अर्कोतिर व्यापार नचल्दा व्यापारीहरु थप चिन्तामा छन् ।

काठमाडौंको विभिन्न स्थानमा व्यापार गर्ने व्यापारीहरुले लकडाउनको समयमा नै भाडा तिर्न नसक्ने अवस्था आएपछि पसलको सामान आफ्नो कोठामा लगेर राखेका थिए भने, कति व्यापारीले त आफू गाउँ जाँदा सामान पनि गाउँ नै लिएर गएका थिए । महँगो सटर भाडा तिरेर पसल सञ्चालन गर्ने व्यापारीहरुले दशैंमा नै धेरै कपडालगायतका सामान बेचेर राम्रो मुनाफा गर्ने गरेका थिए । तर यो वर्षको दशैंमा त्यस्तो अवस्था छैन । करिब ७ महिना लामो बन्दका कारण सर्वसाधारणसँग पैसा छैन ।

निषेधाज्ञा खुलेसँसै न्यूरोड, ठमेल, असन र महाबौद्धलगायतका व्यापारिक क्षेत्रमा मान्छेको चहलपहल भने वृद्धि भएको छ । मान्छेको चहलपहल वृद्धि भएपनि व्यापार भने शून्यजस्तै जस्तै छ ।

न्यूरोडमा जुत्ता-चपल पसल गर्दै आएका राजेन्द्र पञ्जियार यस वर्षकाे दशैं तिहारभन्दा पनि आफू कसरी बाँच्ने भन्ने चिन्ता भएको बताउँछन् । ‘मेरो बुबाको पालादेखि सञ्चालनमा आएको पसल कोरोनाको कारणले थला परेको छ । बन्द खुलेपनि व्यापार भएको छैन’, उनले भने ।

‘कोरोनाको कारणले व्यापार नै छैन । बिहान आएर पसलमा बस्ने मात्रै हो । कोरोनाको संक्रमण फैलिनुभन्दा पहिले दैनिक ६० देखि ७० हजारको व्यापार हुने गरेको थियो,’ पञ्जियारले मकालु खबरसँग गुनासाे पाेख्दै भने, ‘पसलको भाडा प्रतिमहिना ६० हजार छ । घरधनीलाई भाडा र कामदारलाई तलब कसरी दिने भन्ने चिन्ताले समस्या परेको छ ।’

१३ वर्षदेखि महाबौद्धमा कपडा पसल सञ्चालन गर्दै आएका मोहन केसीको पीडा पनि पञ्जीयारको भन्दा फरक छैन । उनी भन्छन्–‘कोरोनाको कारणले व्यापार चौपट छ । मासिक ७० हजार घरभाडा र ५ जना कर्मचारी पालेर बन्दलाई कटाए, तर बन्द खुलेपनि व्यापर हुने छाँटकाँट छैन ।’

उनले थपेका छन्, ‘सरकारले व्यापारीलाई नै पेलिराखेको छ, ७ महिनादेखि केरुङ नाकामा सामान थन्किएको छ । व्यापारीहरु समस्यामा पर्दै गएका छन् । पसलमा बोनी हुनै गाह्रो छ । सरकारले पनि व्यापारीहरुको समस्या बुझेर कर अलि पछि उठाएको भएपनि हुन्थ्यो !’

प्रतिक्रिया