निषेधाज्ञा खुलेसँगै फुटपाथमा चहलपहल बढ्यो, असनमा भीडभाड !

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै अहिले केही हदसम्म सहज ढंगले चलिरहेको छ जनजीवन । भाद्र २४ को राति १२ बजेदेखि फुटपाथ व्यवसायलाई पनि सञ्चालनको अनुमति दिइसँगै भीडभाड बढ्न थालेकाे छ ।

काठमाडाैंकाे न्युराेड, सुन्धारा, असन गल्लीतिर फुटपाथ बजार बाक्लै रूपमा खुलिसकेका छन् । काठमाडाैंका व्यापारिक हबहरूमा किनमेल गर्ने मानिसहरूकाे चहलपहल पनि बाक्लिएकाे छ ।

लामाे समय बन्द रहेका फेन्सी पसलहरूले पनि खुल्ने अनुमति पाएका छन् । यद्यपी व्यापार भने ठप्प रहेको पसल सञ्चालकहरु बताउँछन् । लामाे दुरीका सवारी साधनहरू खुलेपछि भने दशैंका मुखमा व्यापार हुन सक्ने उनीहरूकाे भनाइ छ।

अहिले छाेटाे दुरीका सवारी साधन भने खुलिसकेका छन् । जाेरविजाेर प्रणाली लागु गरिएकाे छ । बढी भीडभाड हुने केही स्थानहरू बन्द राखिएपनि चहलपहल राेकिएकाे छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित अधिकांश चिकित्सकहरूले बाक्लाे चहलपहलले काेराेना संक्रमण तीव्र रूपमा फैलन सक्ने चेतावनी दिएपनि नागरिकले स्वास्थ्य मापदण्ड ख्याल गरेकाे त्यति पाइँदैन ।

बजारमा निस्किएका नागरिकलाई नियाल्ने हो भने मास्क समेत लगाएको देखिँदैन । सामाजिक दुरी पनि खासै कायम गरिएकाे छैन । यी गतिविधि केलाउने हाे भने लाग्छ काेराेनाप्रति नागरिक अझै पनि सचेत छैनन् !

निषेधाज्ञा खुकुलाे बनाइएपनि काठमाडाैं उपत्यकामा सैलुन, ब्युटी पार्लर, विद्यालय, रेष्टुरेन्ट, बार, हलहरु, जुलुस, यात्रा, महोत्सव, सभा, गोष्ठी, सम्मेलन, मठमन्दिर, मस्जिदहरु, तालिम, पार्टी प्यालेस, डान्सबार, जीमखाना, स्वीमिङ पुल लगायत बढी भीड हुने व्यवसायिक हबहरू बन्द नै राखिएकाे छ ।

प्रतिक्रिया