कोरोना जोखिममै पनि विदेशमा भविष्य खोज्दै नेपाली विद्यार्थी

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च छ । तर, त्यसको परवाह नगरी शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा विद्यार्थीको भीड छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच उनीहरू विदेशमै भविष्य खोज्दै छन् ।

शाखाबाट विदेशमा अध्ययनका लागि स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) र विदेशी मुद्रा सटही सिफारिसपत्र दिने व्यवस्था छ । भदौ दोस्रो साता सरकारले विदेशमा अध्ययनका लागि स्वीकृतिपत्र वितरण खोल्ने निर्णय गरेको थियो । त्यसको केही दिनपछि मन्त्रालयले अनलाइन आवेदन लिन सुरु गरेको हो । कोरोना संक्रमण बढेसँगै त्यसबाट अति प्रभावित मुलुकका लागि मन्त्रालयले चैत पहिलो सातादेखि स्वीकृतिपत्र दिन बन्द गरेको थियो । सोही कारण चैतयता न्यून संख्यामा मात्र स्वीकृतिपत्र जारी भएको थियो ।

कोभिड–१९ विरुद्ध खोप बन्ने क्रममै छ । अमेरिका, बेलायतलगायत विकसित मुलुकमा कोरोना संक्रमण बढ्दो छ । यस वर्ष विदेश अध्ययनमा जाने विद्यार्थी संख्या कम हुने अनुमानमा मन्त्रालयका अधिकारीहरू थिए । तर, नेपाली विद्यार्थी कोरोना संक्रमण प्रभावित मुलुकमै अध्ययनका लागि जान इच्छुक देखिएका छन् । स्वदेशमा रोजगारी र करिअर नदेखेका कारण विद्यार्थीहरू जोखिमबीच पनि बिदेसिन लालायित देखिएको विज्ञ बताउँछन् ।

गत बिहीबारसम्म तीन हजार चार सय ९८ जनाले स्वीकृतिपत्रका लागि आवेदन दिएका छन् । तीमध्ये पाँच सयभन्दा बढीले स्वीकृतिपत्र लगेको शाखाले जनाएको छ ।

विदेशमै भविष्य खोजी
म्याग्दीका रवीन्द्र बुढाथोकी बिहीबार केशरमहलको सोही भीडमा भेटिए । कोरोनाको डर भए पनि भविष्य उज्ज्वल हुने आशामा स्वीकृतिपत्र लिन आएको उनले बताए । ‘यस्तो अवस्थामा पनि स्वीकृतिपत्र लिन आउनु हाम्रो बाध्यता हो,’ बुढाथोकीले भने, ‘नेपालमा रोजगारी छैन, यहाँ दुःख भएर नै बाहिर जान खोजेको हो । विदेश पढ्न गएर घरको जिम्मेवारी पनि पूरा गर्न सक्छु भन्ने लाग्यो ।’

११ चैतमा देशव्यापी लकडाउन हुनुअघि उनी अध्ययनका लागि दक्षिण कोरिया जाने तयारीमा थिए । सबै प्रक्रिया पूरा गरिसकेपछि लकडाउन घोषणा भयो र उनी रोकिए । मन्त्रालयले आवेदन खुला गर्नासाथ उनले नयाँ प्रक्रिया थालेका हुन् ।

सुनसरी इटहरीका नीरज रेग्मी पनि सुन्दर भविष्यको कल्पना गर्दै अध्ययनमा विदेश जाने प्रक्रियामा छन् । स्वदेशमा स्नातक तह उत्तीर्ण भएर पनि रोजगारी नपाइने, जागिरका लागि अनुभव खोजिने र पाए पनि पारिश्रमिक थोरै हुँदा घर चलाउन कठिन हुने उनको बुझाइ छ । ‘विदेशमा गुणस्तरीय पढाइ र घरखर्च चलाउने कमाइ पनि हुन्छ,’ रेग्मीले भने, ‘राम्रो भविष्य देखेर नै विदेश जान लागेको हुँ ।’

काठमाडौं पुतलीसडककी सुम्निमा तण्डुकारले माइक्रोबायोलोजीमा स्नातक (बिएससी) पूरा गरेकी छन् । थप अध्ययनका लागि उनी क्यानडा जाने प्रक्रियामा छिन् । नेपालभन्दा क्यानडा सुरक्षित रहेको उनको बुझाइ छ । करिअर बनाएर स्वदेश फर्किने सोचमा छिन्, उनी । स्वदेशमा लाइसेन्स नपाइने समस्याका कारण उनी निराश छिन् । क्यानडाबाट ‘प्रोजेक्ट म्यानेजमेन्ट’मा ‘पोस्ट ग्य्राजुएट डिप्लोमा’ गर्ने तण्डुकारको योजना छ । भन्छिन्, ‘क्यानडामा पढेपछि करिअर राम्रो हुन्छ, त्यहाँको जीवनशैली पनि फरक हुन्छ ।’

विदेशमा अध्ययनका लागि छात्रछात्रा दुवैको उस्तै आकर्षण छ । अधिकांंश विद्यार्थी कक्षा–१२ सकेपछि डिप्लोमा र स्नातक तह अध्ययनका लागि जान्छन् भने कतिपय भने स्नातक सकेपछि पनि बिदेसिन्छन् ।

पहिलो रोजाइ अस्ट्रेलिया
केही वर्षयता निरन्तर नेपाली विद्यार्थीको पहिलो अध्ययन गन्तव्य बनेको छ, अस्ट्रेलिया । गत आव ०७६/७७ मा पनि अस्ट्रेलियामा अध्ययनका लागि स्वीकृतिपत्र लैजाने विद्यार्थी संख्या सबैभन्दा बढी छ । ०७२ साउनदेखि ०७७ असार मसान्तसम्म अस्ट्रेलिया अध्ययनका लागि स्वीकृतिपत्र लैजानेको संख्या एक लाख १४ हजार एक सय ७२ छ । तीमध्ये गत आव ०७६/७७ मा १० हजार ७२ जनाले स्वीकृतिपत्र लिएका छन् ।

०७५/७६ मा अस्ट्रेलियाका लागि मात्र ३६ हजार तीन सय २४ वटा स्वीकृतिपत्र जारी भएका थिए । यस्तै, ०७४/७५ मा ३२ हजार दुई सय १२, ०७३/७४ मा २४ हजार दुई सय ३३ र ०७२/७३ मा ११ हजार तीन सय ३१ विद्यार्थीले स्वीकृतिपत्र लिएका थिए ।

अस्ट्रेलियाबाहेक जापान, साइप्रस, भारत, दक्षिण कोरिया, बेलायत, चीन र न्युजिल्यान्ड विद्यार्थीको रोजाइमा परेका अध्ययन गन्तव्य हुन् । अमेरिका गत वर्ष ११औँ स्थानमा परेको छ ।

तेस्रो रोजाइमा साइप्रस
पछिल्ला वर्षमा नेपाली विद्यार्थीका लागि अध्ययनको तेस्रो आकर्षक गन्तव्य बनेको छ, पूर्वी भूमध्यसागरीय टापु देश साइप्रस । ०७४/७५ मा साइप्रस जान सात सय ४१ विद्यार्थीले स्वीकृतिपत्र लिएका थिए । आव ०७५/७६ मा यो संख्या बढेर दुई हजार तीन सय दुई पुगेको छ । आव ०७६/७७ मा साइप्रसका लागि दुई हजार चार सय ७८ जनाले स्वीकृतिपत्र लिएका छन् । साइप्रस जान सजिलो र त्यहाँबाट युरोपेली मुलुकमा पुग्न सहज भएका कारण विद्यार्थी आकर्षण बढेको हो ।

श्रम गन्तव्यमै अध्ययनको आकर्षण

नेपालको मुख्य श्रम गन्तव्यमध्येमा पर्छ, संयुक्त अरब इमिरेट्स (युएई)को दुबई । सोही सहर विद्यार्थीको पनि आकर्षक टप टेन गन्तव्य हो । विगतमा विद्यार्थीको आकर्षक गन्तव्य मानिने अमेरिका गत आवमा ११औँ स्थानमा झरेको छ । मलेसिया, कतारलगायत नेपाली युवाका श्रम गन्तव्यमा पनि विद्यार्थीहरू अध्ययनका लागि जाने गरेका छन् । गत आवमा मलेसियामा ५८ र कतारमा ५७ विद्यार्थी अध्ययनका लागि गएका छन् ।

कमजोर अवस्थाका देशमा पनि नेपाली विद्यार्थी

शैक्षिक गुणस्तर र आर्थिक अवस्था दुवै कमजोर रहेका देशमा पनि नेपाली विद्यार्थी पुगेका छन् । मन्त्रालयका अनुसार आव ०७६/७७ मा ६८ देशका लागि स्वीकृतिपत्र जारी गरिएको थियो । तीमध्ये इजिप्ट, कोस्टारिका, क्रोएसिया, अजरबैजान, बोस्निया एन्ड हर्जगोभिना, लक्जेमबर्ग र स्वाजिल्यान्डका लागि एक–एकजनाले स्वीकृतिपत्र लिएका थिए । शैक्षिक स्तर खासै राम्रो नभएको भूमध्यसागरीय टापु मुलुक माल्टा पनि नेपाली विद्यार्थीको रोजाइको १७औँ गन्तव्य हो । गत आवमा एक सय ५६ विद्यार्थीले माल्टामा अध्ययनका लागि स्वीकृतिपत्र लगेका छन् । स्लोभानिया, इस्टोनिया, लिथुवानिया, दक्षिण अफ्रिका, किर्गिस्तान, रोमानिया, कम्बोडियालगायत देशमा नेपाली विद्यार्थी पुगेका छन् ।

कोरोना संक्रमणमा पनि विद्यार्थीलाई बिदेसिन अभिभावकको साथ : दिलनाथ पुरी, प्रमुख
वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखा

कोरोना संक्रमणको जोखिम उच्च भए पनि स्वीकृतिपत्र लिन आउनेको चाप बढी छ । स्वीकृतिपत्रका लागि अनलाइन आवेदनको व्यवस्था छ । कोरोना संक्रमणको यस्तो अवस्थामा पनि अभिभावकको साथ पाएर विदेश अध्ययन गर्न चाहनेको संख्या बढ्दो छ । हामीसँग पनि विद्यार्थीहरू स्वदेशमा भविष्य नभएको बताउँछन् । विदेशमा शिक्षासँगै भविष्य पनि राम्रो बन्ने उनीहरूको भनाइ हुन्छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया