मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरू(भिडियोसहित)

‘खुलामञ्चमा भात खुवाएजस्तो गरेर हुँदैन, राज्यले दायित्व पुरा गर्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहर बजारमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरू कोभिड–१९का कारण निकै ठूलो सङ्कटमा परेकाले सरकारले उनीहरूका लागि ‘विशेष राहत’ प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत कुरा गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन् । प्रचण्डले कोरोना महामारीका कारण देशका मुख्य शहरहरुमा दैनिक ज्याला मजदुरी गरेर जीवन  जिउनेहरू सबैभन्दा मर्कामा परेको आफूले पाएको भन्दै उनीहरूका लागि सरकारले केही न केही व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
उनले खुलामञ्चमा कोहीकोही दाताले भात खुवाएजस्तो मात्र गरेर राज्यको दायित्व पूरा नहुने पनि बताए । कोरोनाका कारण सरकारले गत चैत ११ गतेबाट लकडाउन, निषेधाज्ञाजस्ता विधि अपनाएको थियो ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले लिए शपथ
राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार (आज) राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।  अपराह्न राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको थियो ।

हिरासतमा भएको मृत्युबारे छानबिन गर्न संसदीय समिति गठन
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले हिरासतमा भएको मृत्युका घटनाको अध्ययन गर्न उपसमिति गठन गरेको छ । केही महिनायता धनुषा, रौतहट र कैलालीमा हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएको थियो ।
मृतकका परिवारले भने हत्या भएकाले छानबिन हुनुपर्ने माग गरिरहेका छन् । बिहीबार बसेको समितिको  बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको सभापति कृष्णभक्त पोखरेलले बताए । मृत्युको घटनालाई लिएर मृत्यु हुनेका आफन्तजनले विरोध प्रदर्शन गरेका छन् ।

आजको कोरोना अपडेटः थप ४ जना बिते
नेपालमा कोरोना सङ्क्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या ३८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा थप १२ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १२ सय ४६ जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् । आजको थप अपडेटसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५९ हजार ५७३ पुगेको छ ।

२ लाख नगद लुटपाट, शङ्कास्पद ४ जना प्रहरी नियन्त्रणमा
कागेश्वरी मनोहरा नगरपालिका ६ नर्लिङ रिसोर्ट अगाडिबाट प्रदेश ३–०३–००१ ख ०१७१ नम्बरको ट्रक चालकको साथमा रहेको करिब नगद १६ हजार रुपैयाँ बिहीबार बिहान लुटपाट भएको छ । भैरहवाबाट मार्बल लोड गरी ल्याउँदै गरेको उक्त ट्रक रोकी राखेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ । त्यस्तै सर्लाही, चक्रघट्टा गाउँपालिका ५ पडरिया र मदनपुर गाउँ नजिक चौरीबाट कविलासी नगरपालिका ३ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी समेत २ जनाको नगद १ लाख ९० हजार रुपैयाँ बुधवार दिउँसो लुटपाट भएको छ ।

ऊर्जा मन्त्रीको सचिवालय– ‘कुलमानको प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ’
दुई दिनअघि नेपाल विद्युत् प्राधिकरणबाट बिदा भएका कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः चार वर्षे कार्यकालका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको सचिवालयले प्रस्ताव गरेको छ ।
मन्त्री पुनको सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुराबारे प्रष्ट पारेका हुन् । उनका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेस गरेका हुन् । भदौ २८ मा कुलमानको चार वर्षे कार्यकाल सकिएको थियो । उनलाई भदौ ३१ मा औपचारिक रूपमा बिदाइ गरिएको थियो ।

गृहमन्त्रीका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित
गृहमन्त्री रामबहादुर थापा जान नभ्याएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको समितिको बैठकमा बाढी पहिरोका कारण भएको क्षतिको पछिल्लो अवस्था, बाढी पहिरोको जोखिम न्यूनीकरण, पीडितलाई राहत र पुनःस्थापनामा सरकारले गरेका कामबारे छलफलका कार्यक्रम राखिएको थियो । त्यसका लागि गृहमन्त्री थापालाई निमन्त्रणा गरिएको थियो । तर, आज १२ बजेका लागि तोकिएको बैठकमा आफू आउन नभ्याउने भनी मन्त्री थापाले जानकारी गराएपछि बैठक स्थगित भएको समितिको सचिवालयले जानकारी दिएको छ । थापाले समिति सभापति शशि श्रेष्ठलाई टेलिफोन गरी त्यही समयमा मन्त्रिपरिषद् बैठक रहेकाले आफू आउन नभ्याउने जानकारी गराएको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

नेप्से परिसूचक ३० अङ्क बढ्यो, ४१ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि
साताको अन्तिम कारोबार दिन बिहीबार  शेयर बजार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३०.७८ अङ्क वृद्धि भई १५७२.१९ विन्दुमा उक्लिएको छ । परिसूचक गत कारोबार दिनको तुलनामा २ प्रतिशत वृद्धि भएको हो । ४५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । जसमा ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ भने बाँकी ४१ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शेयर मूल्य १० प्रतिशत वृद्धि हुनेमा हिमाल दोलखा हाइड्रो कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तारा गाउँ रेजेन्सी होटेल लिमिटेड र सोल्टी होटेल लिमिटेड रहेका छन् ।

पीएसजीको जितको सुरुआत, नेयमारलाई दुई खेलमा प्रतिबन्ध 
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ । नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जीत हात पारेको हो । गए राति भएको खेलमा पीएसजीले मेट्जलाई १–० ले हराएको हो । खेलको निर्णायक गोल जुलियन ड्राक्सलरले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेका थिए । निलम्बनमा रहेको नेयमार र कोरोना सङ्क्रमणका कारण एम्बाप्पेबिना खेलेको पीएसजीले कठिन जित हात पारेको हो । जीतसँगै पीएसजीले तालिकामा ३ अङ्क जोडेको छ ।

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताए । बुधवार उनले अक्टोबरमा देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् ।
उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको बताए । कोरोनाभाइरसबाट अति प्रभावित भएको अमेरिकामा अहिलेसम्म ६६ लाख १६ हजार ४ सय ५८ जना सङ्क्रमित भएका छन् भने कोरोनाकै कारण एक लाख ९६ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया