एउटै गाउँमा सात करोडको तरकारी

दुल्लु । दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् ।

यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक करोडौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् । व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती शुरु गरेका जाहरकोटका किसान चन्द्रबहादुर थापाले तरकारी खेतीबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्छन् । उनले २० रोपनी जग्गामा गरेको तरकारी खेतीको आम्दानीले दुई छोरालाई सब—इञ्जिनीयर पढाएका छन् । अहिले दुबै छोरा नेपाल सरकारको जागीरे छन् ।

त्यस्तै, नारायण नगरपालिका–२ का अध्यक्ष रेशमबहादुर थापाले पनि करिब २५ रोपनी जग्गामा गरेको व्यवसायिक तरकारी खेतीबाट वार्षिक १२ देखि १५ लाखसम्म आम्दानी गर्छन् । चन्द्रबहादुर र रेशमबहादुर मात्र होइन, यहाँका प्रायः सबै घरपरिवारले व्यावसायिक तरकारी खेती गर्ने गरेका छन् । सरकारी तथा अन्य पेशामा आवद्ध भएकाले पनि बिहान बेलुकाको समयलाई सदुपयोग गर्दै तरकारी उत्पादनमा लागेका छन् ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका अनुसार जाहरकोटबाट मात्रै वार्षिक ७ करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ । ‘यहाँबाट उत्पादित तरकारी जिल्लाबाहिर पनि जाने गरेको छ’, व्यावसायिक तरकारी खेतीमा लागेका किसान सर्वजित भण्डारीले भने, ‘तरकारी खेतीबाट वार्षिक १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ ।’ आठ वर्षअघि भाडामा जग्गा लिएर तरकारी खेती शुरु गरेका भण्डारीले अहिले तरकारी लगाएको सबै जमीन खरिद गरेर आफ्नो नाममा सम्पति जोडिसकेका छन् । त्यति मात्र होइन, यसैको आम्दानीले सुर्खेतमा पनि दुई वटा घडेरी जोडिसकेको उनको भनाइ छ ।

तरकारीको आम्दानीले आफ्नो जीवन नै सुखी बनाएको वडाध्यक्ष थापाको भनाइ छ । छत्तीस वर्ष शिक्षण पेसामा संलग्न हुँदा र अहिले वडाध्यक्ष हुँदा पनि आफूले तरकारी खेती निरन्तर रुपमा गरिरहेको उनले बताए । यहाँको तरकारी दैलेख सदरमुकाम, सुर्खेत र नेपालगञ्जलगायत बजारमा विक्री हुने गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।

‘यहाँको उत्पादनले भारतबाट आउने तरकारीलाई विस्थापित गरिएको उनको भनाई छ । ‘विषादी प्रयोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले पछिल्लो समय यहाँका किसान अर्गानिक तरकारी खेतीमा जोड दिएका छन ।’ उनीहरु जैविक विषादीको प्रयोग गरी रोग र कीरा नियन्त्रण गर्न थालेका छन् ।

जाहकोटलाई नमूना तरकारी केन्द्रको रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले बताए । रासस

प्रतिक्रिया