१५ दिनदेखि ५ हजार घरधुरी अँध्यारोमा, जनप्रतिनिधिले दिएको सोलार पनि जडान हुन सकेन

काठमाडौं । संघीयता आउँदा गाउँगाउँमा सिंहदबारकै सुविधा पुग्छ भन्ने थियो । तर स्थानीय सरकारहरुले गाउँमा सिंहदरबारकै सुविधा दिन्छौँ भनेर चुनावमा भोट मागेका थिए । तर अहिले स्थानीय तहले आफ्नो क्षेत्रमा गर्नुपर्ने काम समयमा नै गर्न सकिरहेका छैनन ।

बाग्लुङको ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडामा भदौ १७ गते राति गएको पहिरोले साना १२ वटा विद्युल आयोजना बगाएको थियो । बाढी गएको १५ दिन हुँदासमेत विद्युत निर्माणको काम सुरु हुन सकेको छैन् । ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका करिब ५ हजार घर अँध्यारो भएको छ ।

ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले केन्द्रको विद्युत जडानका लागि र बाढीले क्षति पुर्याएको जलविद्युत पुनः निर्माणका लागि काम भइरहेको बताए । उनले भने, ‘हामीले बजेटको व्यवस्था गरिसकेका छौँ । नगपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडामा तत्कालका लागि १ सय ३५ वटा सोलरको व्यवस्था भएको छ । नगरपालिकाले साना जलविद्युत आयोजनाहरुको अध्ययन भएको र त्यसका लागि बजेटको व्यवस्था गरेको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले पनि क्षति पुगेको गाउँमा विद्युत पुनः सञ्चालन गर्नका लागि काम भइरहेको बताए ।

ढोरपाटन नगरपालिकाको ८ नम्बरका वडा अध्यक्ष नन्दे सोनारले गाउँमा क्षति पुगेको विद्युत आयोजनाहरु अध्ययन गर्न आएका प्राविधिकहरुले के भएको छ भनेर समेत जानकारी नदिएको बताए । उनले भने गाउँमा फोन चार्ज गर्नका लागि जनप्रतिनिधिले दिएको सोलार समेत जडान भएको छैन् । जडानका लागि प्राविधिक नभएको कारणले जडान गर्न नसकिएको उनले बताए ।

‘मैले अध्ययन गर्न आएका प्राविधिकसँग कति क्षति भएको छ भनेर ३ पटक सोधिसकेँ । तर, कति खर्च लाग्छ भनेर कुनै जानकारी आएको छैन ।’ उनले भनेका छन् ।

साना आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दूरसञ्चारका टावरसमेत प्रभावित भएका छन् । मोबाइलको ब्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था रहेको गाउँलेहरुले बताएका छन् ।

स्थानीय भन्छन्–‘दशैं अगाडि बत्ती आउने आशा कम भएको छ ।’ उनीहरु स्थानीय निकायले ध्यान नदिँदा समस्यामा परेको बताउँछन् ।

प्रतिक्रिया