भोलि देखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउँदै

काठमाडौँ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार सञ्चालनमा आउने भएको छ ।

विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार भाद्र २९ गते बसेको नेपाल सरकारको मन्त्री परिषद्को निर्णयलाई टेकेर सञ्चालन गरिन लागेको चन्द्रागिरि हिल्सले जनाएको हो ।

केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरेसँगै अहिले निषेध आदेशबाट बन्द रहेको नयाँ पर्यटकीय हब चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा आउने चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए ।

‘चन्द्रागिरि हिल्स प्रालिले कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भोलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी गरेका छौँ शाहले भने ।’

राजधानीमा जारी निषेध आदेश र लकडाउन केही खुकुलो भएसँगै अहिले काठमाडौँ उपत्यकाभित्रका विभिन्न व्यापार/व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् ।

चन्द्रागिरि केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि तयारी थालिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

चन्द्रागिरि केबलकार सञ्चालन आएपछि एउटा कारमा ८ जना यात्रा गर्न पाइने छैन भने अबदेखि एउटा कारमा सामाजिक दुरी कायम गर्दै चार जना मात्रै यात्रा गर्नु पर्ने कम्पनीको नियम कायम गरेको छ ।

महाप्रबन्धक शाहले भने, ‘सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइजर गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी गराउँदै भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ ।’

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरिएको छ ।निश्चित क्षमतामा मात्रै भए पनि सरकारको यस्तो निर्णयले कोरोनाले सङ्कटको अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सकिने शाहको दाबी छ ।

प्रतिक्रिया