चितवनमा सार्वजनिक सवारी चल्न पाउने, पसल खोल्न निश्चित समय 

चितवन। चितवनमा निषेधाज्ञा झनै खुकुलो पारिएको छ ।  निजी र सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाउने र अत्यावश्यक बाहेकका पसलहरू पनि निश्चित समयमा खोल्न पाइने गरी निषेधाज्ञा  खुकुलो पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधवार सूचना जारी गर्दै भोलि देखि लागू हुने गरी असोज ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञामा परिमार्जन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

सूचना अनुसार अनलाइन शिक्षा मात्र सञ्चालन गर्नु पर्ने, पर्यटकीय होटलहरुमा पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार पाहुना राख्न पाउने व्यवस्था मिलाइएको छ । अब जिल्ला भित्र निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक सवारी साधनको हकमा मापदण्ड तोकिएको छ ।

अटो रिक्सामा बढीमा २ जना, म्याजिक भ्यानमा ५ जना राखेर चलाउनु पर्ने छ भने बसमा पूरा सिटको आधामा मात्र यात्रु राख्नु पर्ने, यात्रु, चालक, सहचालकले अनिवार्य मास्क लगाउनु पर्ने, सवारीको ढोकामा स्यानिटाइजर राख्नु पर्ने सूचनामा उल्लेख छ ।

आइसोलेसन, क्वारेन्टाइन, टेक अवे सञ्चालन गर्ने होटेल तथा रेस्टुरेन्टका कामदार, सार्वजनिक सवारीका चालक र सहचालकले महिनामा एक पटक पीसीआर परीक्षण गर्नु पर्ने छ ।  चितवनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले परिवर्तित आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताए ।

प्रतिक्रिया