मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बागलुङका पहिरो पीडितलाई प्रदेश सरकारको ५० हजार सहयोग

बलेवा । बागलुङको जैमिनी नगरपालिकामा भदौ २८ र २९ गतेको पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले आज पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत प्रदान गरेका छन् ।

पहिरोमा परि ज्यान गुमाएका जैमिनी नगरपालिका–१ कुश्मीशेराका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ बिनामारेकी जालपादेवी पौडेलको परिवारलाई प्रति परिवार ५० हजारका दरले प्रदेश सरकारले राहत उपलब्ध गराएको छ ।

राहत प्रदान गर्दै मन्त्री चुमानले विपतको सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताए । स्थानीय सरकार र संघ सरकारसँगको समन्वयमा विस्थापितको पुनर्वासका लागि पहल गरिने भन्दै उनले तत्कालको व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

प्रदेश सरकार पीडितका साथमा रहेकाले शोकलाई शक्तिमा बदल्न उनको आग्रह थियो । जैमिनीमा दुई दिनसम्म निरन्तर परेको वर्षापछि आएको पहिरोका कारण आठ घर पुरिएका छन् । पहिराको जोखिमका कारण दर्जनभन्दा बढी परिवार आफ्नो घर छाडेर छिमेकमा बसेका छन् । रासस

प्रतिकृयाहरु
Loading...