नेकपा प्रचार विभाग प्रमुख र उप-प्रमुखबीच ‘वाक युद्ध’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’माथि प्रचार विभाग उप-प्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा खनिएका छन् ।

गत २९ भदौमा सकिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति र स्वयंमसेवक परिचालनका सम्बन्धमा थापा आफ्नै विभाग प्रमुखमाथि खनिएका हुन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उठाएका ती दुई विषयको सन्दर्भमा आफ्नो पदीय हैसियतको ख्यालनै नगरेको बताउँदै थापा उनीमाथि खनिएका हुन् । प्रवक्ता श्रेष्ठले आइतबार कुलमान घिसिङको पुनः नियुक्ति हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरेका थिए ।

प्रवक्ता श्रेष्ठले उठाएका दुई विषयको एक जवाफ दिँदै थापाले ‘काम कुरो अर्कोतिर कुम्लो बोकी ठिमीतिर भन्ने’ उखान हालेर उडाएका थिए । यस्तै थापाले श्रेष्ठ कुलमानको लबिङ्गमा लागेको आरोपसमेत लगाएका छन् ।

‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ्ग ?’ थापाले प्रश्नका रुपमा भनेका छन्, ‘पार्टीको हाल जिम्मेवारी यही हो र ? सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ?’



प्रतिक्रिया