राष्ट्रिय झण्डा जलाउने गायक पुर्पक्षका लागि थुनामा

काठमाडौं । राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । म्युजिक भिडियोमाा राष्ट्रिय झण्डा जलाएको भिडियो भाइरल भएपछि पक्राउ परेका गायक तामाङलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उक्त आरोपका अन्य ३ जना भने १५ हजार धरौटीमा छुटेका छन् । यस्तै ५ जनालाई साधारण तारिखमा छोडेको जिल्ला अदालत काठमाडौंले जनाएको छ । उनीहरुविरुद्ध भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

भिडियो विष्णु आधारभूत विद्यालय मकवानपुरमा छायांकन गरिएको थियो । भिडियो ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याएमा कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ । राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया