यो भन्दा बढी म के लेखुँ …?

काठमाडौं । अभिनेत्री गौरी मल्लले पछिल्लो समय सरकारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा समाजका पीडाहरू लेखिरहेकी छिन् ।

केहि समय अगाडि भारतबाट फर्किएका नेपालीको दुःख बुझ्न नसकेको भन्दै प्रधानमन्त्रीसँग गुनासो पोखेकी अभिनेत्री मल्लले
सोमबार सामाजिक सञ्जाल फेसबुकमा देश र देशको भविष्य आजका बालबालिकालाई चन्दन बनाउन अनुरोध गरेकी छन् ।

‘अभिभावक ! अत्ति वजन भएको शब्द साथै पद अनि सम्मान । भनिन्छ नि, बुझ्नेलाई चन्दन नबुझ्नेलाई खुर्पाको बिँड । आज राष्ट्रिय बालदिवसको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्युको सन्देश पढ्न र हेर्न पाइयो टेलिभिजनहरुका स्क्रिनमा । जसमा लेखिएको तथा सुनिएको यस्तो थियो- सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ,’ उनले लेखेकी छिन्–‘  सम्माननीय प्रधानमन्त्रीज्यू ! विगत धेरै वर्ष यतादेखि यो मुलुकका कुनै पनि बालबालिकाहरुले यहाँले दिनु भएको सन्देश अनुभूति गर्न त के सोच्नसम्म पनि पाएका छैनन् । यो कुराको जानकारी छ होला, सम्माननीय प्रधानमन्त्रीज्युलाई ?’

प्रधानमन्त्री सानातिना, झिना मसिना कुराबाट अनविज्ञ भएकाे भन्दै उनले प्रमकाे अभिव्यक्तिले जगहँसाई बाहेक अरु केहि प्राप्त नहुने बताइन् । उनी अगाडि लेख्छिन्– ‘प्रधानमन्त्रीज्यू ! बिडम्बना त यो छ कि यो मुलुकमा नीतिनियम, कानुन, व्यवस्थापन, कार्यक्रम आदि इत्यादि विभिन्न प्रयोजन बन्छन् र सिंहदरबारको कुनै फाइलमा कैद हुन्छन् अनि सदाझैँ जनतामाझ पुग्छ केवल सान्त्वना र असिमित पिडाहरु….! यो भन्दा बढी म के लेखुँ …?’

‘आज सम्माननीय प्रधानमन्त्रीज्यूलाई एउटा सानो सुझाव टक्राउने धृढता गर्दैछु । यो देशको नागरिकको हैसियतले । कुनै कुरा नजिकबाट मात्र हैन, टाढाको दुरबिनबाट पनि नियाल्ने प्रयत्न गर्नुहोला । साथै कुनै कुरा टाढाबाट मात्र हैन, नजिक गएर अनि नजिक भएर पनि नियाल्ने प्रयत्न गर्नु होला । यो देश र यो देशको भविष्य आजका बालबालिकालाइ चन्दन बनाउनुहोस् प्रधानमन्त्रीज्यू ! खुर्पाको बिँड हाेइन’ , गाैरीले लेखेकी छिन् ।

प्रतिक्रिया