डा.शर्माकै लाईनमा सरकार: पीसीआर परीक्षण शुल्क २ हजारमा झर्यो

काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला काठमाडौं मेडिकल कलेजले गत सोमबारबाट २५ सय मै पीसीआर परीक्षण गर्न थाल्यो । केही साता अघि मात्रै काठमाडौं मेडिकल कलेजको अध्यक्ष बनेका डा.सुनिल शर्माले सरकारले तोकेको भन्दा १९ सय रुपैयाँ कम शुल्कमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाए । पीसीआर परीक्षणमा यो नेपालकै सबैभन्दा सस्तो शुल्क हो ।

स्वास्थ्य मन्त्रालयले तोकेको भन्दा झण्डै आधा शुल्कमै डा.शर्माले पीसीआर परीक्षण गराउँन थालेपछि मन्त्रालयलाई नैतिक संकट पर्यो । डा.शर्मा उही हुन् जो मोरङको क्षेत्र नं.३ मा गत प्रतिनिधि सभा निर्वाचनमा अहिलेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग पराजित भएका थिए ।

ढकालले नेतृत्व गरेको मन्त्रालयले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला ढकालसँगै हारेका डा.शर्माले मन्त्रालयले तोकेको भन्दा १९ सय कम शुल्कमा निजी क्षेत्रबाटै पीसीआर परीक्षण गराउँन थालेका हुन् । निजी क्षेत्रले २५ सयमै पीसीआर परीक्षण गराउँन सक्छ भने सरकारले ४४ सय शुल्क तोकेर जनतालाई राहतको सट्टा आहात दिएको भन्दै सरकार र मन्त्री ढकालको आलोचना भएको थियो ।

बिदेशी दातृ निकायबाट अरबौंको किट निःशुल्क पाउँदा पनि सरकारले निःशुल्क किट उपलब्ध गराएर सहुलियतमा परीक्षण गर्ने बातावरण नमिलाएको भन्दै आलोचना हुने गरेको छ ।

याे पनिः काठमाडौं मेडिकल कलेजमा अब रु. २४९९ मै कोरोनाको परीक्षण गर्न पाइने 

यसैबीच स्वास्थ्य मन्त्रालयले पुरानो शुल्क भन्दा २५ सय कम गर्दै आईतबारबाट पीसीआर परीक्षण शुल्क २ हजारमा झारेको छ । डा.शर्माले शुल्क घटाएको एक सातापछि मन्त्रालयले पनि शुल्क घटाउँने निर्णय लिएको हो । अब, सबै सरकारी तथा निजी प्रयोगशालाले पीसीआर परीक्षण बापत २ हजार भन्दा बढी शुल्क लिन नपाउँने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

यता, सरकार भन्दा पहिले नै शुल्क घटाएर चर्चामा आएका डा.शर्माले पनि शुल्क घटाउँने सरकारी निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् । ‘सरकारले पहिले नै शुल्क घटाउँनु पर्थ्यो, हामीले थालिसकेपछि सरकारले ढिलै भएपनि जनपक्षिय निर्णय लिएको छ ।’ डा.शर्मा भन्छन्–‘जे होस् यो निर्णय स्वागतयोग्य छ ।’ सरकार सकारात्मक बनेमा १५ सयमै पीसीआर परीक्षण गराउँन सकिने डा.शर्मा बताउँछन् ।

प्रतिक्रिया