मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरु (भिडियोसहित)

मङ्सिरभित्र सदस्यता नवीकरण गरिसक्ने नेकपाको निर्णय 
सत्तारुढ दल नेकपाले पार्टी सदस्यहरूको सदस्यता नवीकरण मङ्सिर महिनाभित्र गरिसक्ने भएको छ ।  पार्टी विवाद साम्य भए लगत्तै आइतबार सङ्गठन विभागको बैठक बसेर सदस्यता नविकरणबारे यस्तो निर्णय गरेको हो ।  बैठकले आगामी मङ्सिरभित्र सदस्यता नवीकरण र नयाँ सदस्यबारे सबै काम सक्ने गरी काम गर्ने निर्णय गरेको सङ्गठन विभाग उपप्रमुख जनार्दन शर्माले जानकारी दिए ।  यसअघि शुक्रवार सम्पन्न स्थायी समिति बैठकले आगामी कात्तिक १५ देखि १७ गतेसम्म चैतमा हुने महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ ।

‘सम्भावित स्थानहरूको पहिचान गरी बस्ती स्थानान्तरण गरौँ’
नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिरोको जोखिममा रहेका नागरिकलाई बेलैमा स्थानान्तरण गर्नुपर्ने बताएका छन् । सिन्धुपाल्चोकमा गए राति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको सत्यसँग आफू स्तब्ध भएको बताउँदै अध्यक्ष प्रचण्डले पहिरोको जोखिमको पहिचान घटना घट्नुभन्दा अगाडि नै गर्नुपर्ने बताएका हुन् । यस्तै उनले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएको पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।  गए राति त्यहाँको घुम्थाङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी बेपत्ता छन् ।

आजको कोरोना अपडेटः थप ९ जना बिते
नेपालमा कोरोना सङ्क्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या ३४५ जना पुगेको छ ।
यस्तै गत २४ घण्टामा थप १ हजार ३९ जना सङ्क्रमित थपिएका छन् भने १ हजार १ सय ७३ जना डिस्चार्ज भएका छन् ।
योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५४ हजार १ सय ५९ पुगेको छ । आज थपिएकामध्ये ४३५ जना भने काठमाडौँ उपत्यकाका रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अपडेटे–सिन्धुपाल्चोक पहिरो : ११ जनाको शव फेला, २० अझै बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला परेको छ ।
यस्तै २० जना अझै बेपत्ता रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मकालु खबरलाई जानकारी गराए । बाह्रबिसे नगरपालिका–७ को भिर खर्क, नागपूजे र नेवा टोलमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको प्रअिज ढकालले बताए । यस्तै उनले त्यहाँको सम्भावित जोखिम क्षेत्रमा रहेका नागरिकहरूलाई नगरपालिकाको पहलमा स्थानान्तरण गर्ने काम पनि भइरहेको जानकारी दिए ।

सरकारले पीसीआर परीक्षणको शुल्क
सरकारले पीसीआर परीक्षणको शुल्क आधा घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिए । उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पीसीआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन् । यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो । विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।

नेकपा प्रवक्ताले गठन गरे कोभिड १९ स्वयंसेवा टोली
नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोरोनाबाट हुने कोभिड १९ स्वयंसेवा टोली गठन गरेका छन् । प्रवक्ता श्रेष्ठले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि सरकारले आफ्नो कामलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड १९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि पक्रिया र उद्धारमा सहजीकरणको साथै मनोसामाजिक र आपत्कालीन स्वास्थ्य परामर्श दिनेछ । आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तीमा समेत समन्वय गर्ने बताइएको छ ।  स्वयं सेवाको कामलाई प्रभावकारी बनाउन ¥यापिड रेस्पोन्स टिम र उप–समितिहरू समेत बनेको छ ।

घुम्थाङ पुगे सभामुख सापकोटा 
सभामुख अग्नी प्रसाद सापकोटा सिन्धुपाल्चोकको घुम्थाङमा गएको पहिरो अवलोकन गर्न त्यहाँ पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाअनुसार उनी स्थलमार्ग हुँदै त्यहाँ पुगेका हुन् । बाह्रबिसे ७ घुम्थाङमा गएरातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा बस्ती नै पुरिँदा ठुलो धनजनको क्षति भएको छ । त्यहाँ अहिलेसम्म ११ जनाको शव फेला परेको छ भने दुई दर्जनभन्दा बढी बेपत्ता छन् ।

टीएमएसमा आउने समस्या रोकिएन, आइतबार पनि शेयर कारोबार रोक्का
आइतबार आज शेयर बजार खुलेको केही समयपछि नेप्से कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा समस्या देखिएको छ ।
नेप्सेले कारोबार प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाललाई कारोबार रोक्का राखेको छ । गत साताको बिहीबार पनि टीएमएसमा समस्या आएपछि दुई घण्टा कारोबार अवरुद्ध भई साँझ ५ बजेसम्म कारोबार खुल्ला गरिएको थियो ।

प्रिमियर लिग : टोटेनहम र एभर्टन भिड्दै
इङ्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहमले एभर्टनबीच प्रतिस्पर्धा हुँदै छ । सिजनको पहिलो खेलमा टोटेनहमले एभर्टनसँग खेल्न लागेको हो । टोटेनहमको मैदानमा हुने खेल नेपाली समयानुसार राति ९ः१५ बजे प्रारम्भ हुने छ ।

अमेरिकामा डढेलोका कारण आइतबारसम्म २७ को मृत्यु, ट्रम्प सोमबार प्रभावित क्षेत्र जाने
अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्नियाको भ्रमण गरी आपत्कालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिने बताइएको छ । डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।

ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्नि नियन्त्रकलाई खसालेको छ ।

प्रतिक्रिया