टिप्परकाे ठक्करबाट फिल्म् सम्पादक अनिल गौतमको मृत्यु

काठमाडौं । नेपाली फिल्म् सम्पादक अनिल गौतमको दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार साँझ अफिसबाट घर फर्किने क्रममा टिप्परकाे ठक्करबाट गौतमकोे मृत्यु भएको हो ।

केही समययता प्राइम टेलिभिजनमा सम्पादकको रुपमा कार्यरत गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१ क ४५६३ को टिप्परले कोटेश्वरमा ठक्कर दिएको थियो । सम्पादक गौतमको घट्नास्थलमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि उनलाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएकाे थियो ।

ठक्कर दिने टिप्परका चालकलाई शुक्रबार साँझ नै प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको धुम्बाराहीमा घर भएका ५२ वर्षीय सम्पादक गौतम भक्तपुरको कौशलटारमा स–परिवार सहित बस्दै आएका थिए ।

गौतमले लामो समय चलचित्र विकास कम्पनी (एनएफडीसी) मा फिल्म् सम्पादकको रुपमा काम गरेका थिए । योसँगै विभिन्न कम्पनीमा आबद्ध भएर उनले फिल्मको दृश्य सम्पादन गरेका थिए । पछिल्लो पटक सम्पादन गरेको फिल्म ‘टिन एज’ हो ।

गौतमको निधनप्रति सामाजिक सञ्जालमार्फत् फिल्मीकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया