रसायनजन्य सामान पनि खाद्य बस्तुसँगै राखेर बिक्री, उपभोक्तालाई हेर्ने फुर्सदै छैन !

काठमाडौं । काठमाडौंका अधिकांश खाद्य स्टोरमा झिँगा, साङ्ला मार्ने रसायनजन्य सामान पनि खाद्य बस्तुसँगै राखेर बिक्री गरेकाे पाइएकाे छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नुपर्ने सामान एकै ठाउँमा राखेर बिक्री गरेकाे पनि पाइएकाे छ । 

अनुगमनका क्रममा दालका रुपमा प्रयोग गरिने कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ् गरेको हो ? उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख पाइएन । चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैँ प्याकेट बनाउने तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या छन् । यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको देखिएन । सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने गरेकाे देखियो ।

त्यसमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरिएको देखिएन । भदौ २७ र २८ गते चावहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा भेटिएको याे साझा समस्या हो । उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या देखिएको छ ।

चावहिल चोककै छेउमा एउटै पसलमा दुई वटा बोर्ड छन् । मजिन स्टोर र सावरिया होलसेल मार्ट । एउटा सटरमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ । यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुई वटा फ्लाट लिएर सामान भण्डारण गरेका छन् । भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन् । भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन । भित्र अँध्यारो छ । पुतली उडिरहेका छन् । ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ । गोदाम प्रमाणित गरेको छैन । पसलमा मूल्य सूची छैन ।

खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने बिषादि पनि बेच्न राखिएको छ । पसलको यो अवस्थाले उपभोक्तालाई कुनै असर गर्दैन । उपभोक्तालाई हतार छ । पैसा तिरेर लिएको सामान कस्तो छ ? हेर्ने फुर्सद समेत छैन ।

अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणिकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि विभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको छ ।

प्रतिक्रिया