बचतखाता छोरीको, सुरक्षा जीवन भरीको

काठमाडौैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवम् भक्तपुर स्थित ऐतिहासिक चाँगुनारायण नगरपालिका बीच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।

नगरपालिकाले संचालन गर्न लागेको “बचतखाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष रु. चार हजार जम्मा गर्दै जाने व्यवस्था मिलाईनेछ ।

सम्झौता बमोजिम शून्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा प्रदान गर्ने उच्चतम् ब्याजदर प्रदान गर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने/झिक्ने लगायतका अन्तर बैंक सेवामा कुनै पनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा रु. ३ लाख सम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैले वा उनीहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् ।

यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बीचैमा विद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, बाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

उक्त रकम छात्राहरुले १२ कक्षा उत्तीर्ण गरे पश्चात् मात्र झिक्न पाउनेछन् ।

त्यसै गरी सोही अवसरमै चाँगुनारायण नगरपालिका एवम् नेपाल बैंक लिमिटेड बीच “मेयर उद्यमशीलता विकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत अर्को सम्झौता भएको छ ।

उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवर्द्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र ब्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी व्यवसायिकता अभिवृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले चाँगुनारायण नगरपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख सोमप्रसाद मिश्रले हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रममा चाँगुनारायाण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, भक्तपुर शाखाका प्रमुख विष्णुमान भैल लगायतको उपस्थिति रहेको थियो ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

प्रतिक्रिया