४५ लाख मजदुरको पीडा : ‘कि यातायात सञ्चालन गर्न देऊ, कि राहत’

काठमाडौं । आज यातायात मन्त्रीलाई भेटेर यातायात मजदुरका नेताहरुले असोज १ गतेदेखि लामा, मध्यम र छोटा दूरीका यातायात सञ्चालन गर्न भनेर पत्र बुझाए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई यातायात मजदुरले पत्र बुझाउँदै कि यातायात सञ्चालन गर्न दिनुपर्ने वा यातायात मजदुरलाई राहत दिनुपर्ने माग गरेका छन् ।

जवाफमा मन्त्री नेम्बाङले आफ्नो निर्णयले मात्रै नहुने भन्दै उक्त विषय प्रधानमन्त्री सामु पुर्याउने बताएका थिए । मजदुर नेताहरुलाई मन्त्री नेम्वाङले पनि ‘कि काम गर्न देऊ, नभए माम देऊ’ भन्ने माग जायज भएको तर, सरकार राहत दिनसक्ने अवस्थामा नभएको बताएका थिए ।

नेपाल यातायात स्वातन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले अब यातायात मजदुर भोकै मर्ने अवस्था आएको बताए । अब १ गतेदेखि देशैभर सबै किसिममा यातायात सञ्चालनको विकल्प नरहेको समेत बताए ।

‘३ लाख यातायात व्यवसायी, ११ लाख यातायात मजदुर र अन्य यातायातसँग जोडिएका २१ लाख गरी ४५ लाख मानिस समस्यामा परेकोले अब यातायात सञ्चालनको विकल्प छैन ।’ राईले भने ।

अब यातायात व्यवसायीले स्वास्थ्यको मापदण्ड पूरा गरेर देशैभर यातायात सञ्चालन गर्नेछन् । सरकारले पनि यातायात क्षेत्रका लागि भनेर कुनै किसिमको राहत नदिएकोले यातायात व्यवसायी र मजदुर समस्यामा परेको राईको भनाई छ ।

यातायात मजदुरका नेताहरुले यातायातमन्त्री भेटनुभन्दा पहिले नै यातायात व्यवस्था विभागलाई असोज १ गतेबाट यातायात सञ्चालन गर्ने वातारण मिलाउन माग गरेका थिए ।

यातायात व्यवस्था विभागसँग भेटघाटपछि महासंघका अधिकारी र तीन मजदुरतर्फ तीनवटै संगठनका प्रतिनिधिहरुको बैठक समेत बसेको थियो । सो बैठकले यातायातमन्त्री, सीसीएमसीका संयोजक लगायतलाई ज्ञापनपत्र बुझाई रहेको छ ।

महासंघ सरकारले असोज १ गतेदेखि सरकारले यातायात सञ्चालन गर्न देला भन्ने आशामा छ । सरकारले यातायात सञ्चालन गर्न नदिए प्रतिकार गरेर भएपनि यातायात सञ्चालन गर्ने मनसायमा व्यवसायीहरु पुगेका छन् ।

कोरोना संक्रमणको कारणले करिब ७ महिनादेखि बन्द रहेको यातायात क्षेत्र अहिले चरम आर्थिक समस्यामा पर्दै गएको छ । विश्वका विकसित देशले पनि लकडाउन नै नगरी कोरोना महामारीको समयमा यातायात सञ्चालन गरिनै रहेका छन् ।

कोरानाको संक्रमण रहँदारहँदै पनि अहिले विभिन्न शहरमा भने यातायात खुल्ला गरिएको छ । बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र ठूला बसहरु चल्न थालेका छन् ।

के भन्छन् यातायात विज्ञ ?
यातायात विज्ञ आशिष गजुरेलले भने अब यातायात व्यवसायीले स्वास्थ्यको मापदण्ड पालना गरेर यातायात खोल्ने घोषण गरे पनि धेरै ध्यान दिनुपर्ने बताए ।

यातायात पनि समस्यामा छन् । सामाजिक दूरी कायम गरेर, माक्स र स्यानिटाइजर प्रयोग गरेर यातायात सञ्चालन गर्दा खासै समस्या नहोला सतर्कता भने अपनाउनु पर्छ ।

यस्तै उनले राज्यले बनाएको मापदण्ड अनुसार पनि यातायात सञ्चालन गर्न गाह्रो हुने बताउँछन् ।

उनी भन्छन्–‘राज्यले बनाएको मापदण्ड अनुसार पनि यातायात सञ्चालन गर्न गाह्रो छ । व्यवसायीको खर्च वृद्धि हुन्छ । क्षमता भन्दा आधा मान्छे बोक्ने अनि त्यसमा पनि समय-समयमा यातायातलाई सेनिटाइज गर्नुपर्ने कारणले खर्च वृृद्धि हुने छ । लामो दूरीको यातायातमा कोही कोरोना संक्रमित भए भने करिब १५ घन्टासम्म एउटै गाडीमा यात्रा गर्दा जोखिम हुने हुन्छ ।’

प्रशासनको कडाई
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यातायात पासमा कडाई गरेको छ । यसअघि दाह संस्कार र सरुवा भई जाने कर्मचारी लगायतलाई आवश्यकताको आधारमा सहजीकरण गरी पास दिने गरेको थियो ।

अब भने गन्तव्यमा पुग्ने जिल्ला प्रशासन कार्यालयको पत्र र स्थानीय तहको सिफारिससहित व्यक्ति स्वयम् उपस्थित भएपछि मात्रै त्यस्तो सहजीकरण जारी गरिने उल्लेख छ ।

प्रतिक्रिया