बामदेब गौतमकाे आलोचना गर्नेहरुलाई केही यक्ष प्रश्नहरु

बिभिन्न सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरू मार्फत क. बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयको चर्को आलोचना भइ रहेको छ। केहीले गौतमका क्षमता, दूरदृष्टि र निष्ठामा प्रश्न उठाएका छन र हदै सम्मका लज्जित हुने भाषामा अपमान गरेका छन। त्यसैगरी हाल केही “बुद्धिजिविहरु”को प्राज्ञिक कौशलहरु यो वा त्यो नाममा क. बामदेब गौतमको आलोचना गर्नमै ब्यस्त देखिन्छन् । यही सन्धर्भमा यहाँ केही प्रस्ट्याउन चाहन्छु।

१. बामदेव गौतम नेपालको कम्युनिस्ट आन्दोलनका समकालिन शिर्षस्त नेताहरु मध्ये एक हुनुहुन्छ । वहाँ प्रधानमन्त्री के पी ओली, झलनाथ खनाल, प्रचण्ड, माधव नेपालका समकालिन नेता हुनुहुन्छ ।

२. नेपालको कम्युनिस्ट आन्दोलनमा बामदेब गौतमको ठुलो योगदान छ। कम्युनिस्ट पार्टिलाई यो उचाइमा ल्याउन वहाँको अभुतपुर्ब योगदान छ। वहाँको नाम, संघर्ष, निर्भिकता, निष्ठा, अडान, देशभक्ति र त्याग सुनेर नेपालमा धेरै मानिसहरु कम्युनिस्ट भएका छन । वहाँ एक कुशल सङ्गठक, सिद्धान्त पोख्त ब्यक्तित्व हुनुहुन्छ ।

३. नेपालमा जनयुद्ध चरम ढंगले अगाडि बढीरहेको बेलामा ठुलो खतरालाई मोलेर रोल्पा गइ साहसिक रुपले निर्णय गरी जनयुद्ध र जनान्दोलनलाई एकाकार गराइ २०६२ को आन्दोलन सम्भब गराउने र जनयुद्धलाई शान्तिपूर्ण अबतरण गर्ने काममा बामदेब गौतमको ठुलो योगदान छ, तसर्थ वहाँ एक ऐतिहासिक ब्यक्ति हुनुहुन्छ।

४. नेपालको संबिधान बनाउने कार्यमा बामदेब गौतमको ठुलो योगदान छ। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायत संविधानका प्रमुख उपलब्धिहरु सम्भब गराउने कार्यमा वहाँको अहम भूमिका छ।

५. नेपालमा तत्कालिन ने.क.पा. एमाले र ने.क.पा. माओवादी केन्द्र बिचमा चुनाबी एकताका प्रमुख सुत्राधार मध्येका एक नेता बामदेब गौतम हुनुहुन्छ। यि दुई पार्टी बिचको एकता गराउन वहाँको ठुलो भूमिका छ।

६. क. बामदेब गौतम महान देशभक्त नेता हुनुहुन्छ। केही समय अगाडि नेपालको गुमेको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक कदमको सुत्रधार मध्येका एक हुनुहुन्छ।

७. हालै मात्र नेपाल कम्युनिस्ट पार्टिलाई बिभाजनको सङ्घारबाट आफ्नो ६ बुँदे प्रस्ताब मार्फत हस्तक्षेप गरी बामदेब गौतमले जोगाउने काम गर्नु भएको हो । यो महान र ऐतिहासिक काम हो। नेपाल कम्युनिस्ट पार्टिको ईतिहासलाई हेर्ने हो भने पार्टी नेतृत्वमा संकट परेको बेलामा पार्टिलाई एक ढिक्का बनाउन बामदेव गौतमको महत्वपूर्ण भूमिका रहदै आएको छ । नेपाल कम्युनिस्ट पार्टिलाई एकिकरण गर्ने आधार तयार पार्ने र फुट्न लागेको कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउने नेता बामदेव गौतमको कदम देखेर प्रतिकृयाबादिहरु र तिनका मतियारहरु मर्माहत भएका छन। देशभक्त नेतालाई देशद्रोही दलालहरुले बिरोध गर्नु स्वाभाबिक नै हो ।

८. मुलुकको याबत समस्या समाधान गर्न, नेपाललाई दुनियाँको बिकसित, संमृद्ध मुलुक बनाउने सुत्रहरु सहितको, दिगो बिकासका लक्ष्यहरू, रणनीतिहरु, सुचाँकहरु पुरा गर्न आबस्यक रणनीतिहरु, गर्नुपर्ने इन्टर्भेन्सनहरु सबै समेटेर लेखिएको “नेपाल निर्माणको महाअभियान” पुस्तक लगायत अनेक महत्वपूर्ण राजनैतिक, साहित्यिक पुस्तकहरुका लेखक बामदेव गौतम हुनुहुन्छ ।

९. बामदेव गौतमसँग देश र जनताको उन्नति, प्रगति र संमृद्धिको निम्ति भिजन, विचार, सपना, योजना र दृढ इच्छाशक्ति छ । उहाँमा भुकम्प, नाकाबन्दी, कोरोना र शताब्दिऔँ देखिको बेथितीका कारणले शिथिल अर्थतन्त्र सूधार्न एबं मुलुकले अनेक क्षेत्रमा छलाङ मार्न “संवृद्धिको महाअभियान” सञ्चालन गर्न ब्यापक जनपरिचालन गर्न सक्ने क्षमता छ।

१०. नेपालमा ठुला ठुला उद्याेगहरु स्थापना हुन नदिने, लगानी मैत्रि वातावरण हुन नदिने, नेपालीलाई गरीबै देख्न चाहने, नेपालको अर्थतन्त्र ध्वस्त पार्न चाहने, नेपाललाई परनिर्भर बनाइ राख्न चाहने शक्तिहरुले पुन: नेपालमा अस्थिरता छाओस भनेर प्रार्थना गरिरहेका छन। संसारलाई उदाहरण भएको नेपालको कम्युनिस्ट आन्दोलनलाई ति शक्तिहरुले निमिट्यान्न पार्न चाहन्छन। ति अद्रिष्य शक्तिहरु राम्रा देखिने नाराको आडमा राष्ट्रघाति काम गरिरहेका हुन्छन् र जनता झुक्क्याइरहेका हुन्छन् । दलाल पूँजीवादी प्रवृत्तिले आफ्नो कुरा सोझो भाषामा भन्दैन ।

त्यसैले उनीहरूले केही असम्भव तर सुन्दा-पढ्दा राम्रा लाग्ने नारा र भनाइ तयार गर्छन् र जनताको मनोविज्ञानको शोषण गर्छन् । त्यही दलाल प्रवृत्ति आज त्याग, निस्ठा र सँघर्षको प्रतिमुर्ती कमरेड बामदेव गौतमलाई तल्लो स्तरमा ओर्लिएर मानव सभ्यतालाई नै लज्जित पार्ने शब्दहरु बोलेर, लेखेर, ब्यङ्ग गरेर अपमानित गरिरहेका छन।

११. बुद्धिजिवीहरुलाई प्रश्न-गौतम बुद्धले प्रतिपादन गरेको दर्शनमा अन्य धेरैले पि.एच.डी. गरेका छन । गौतम बुद्धले त कुनै डिग्री लिएका थिएनन । तसर्थ अध्ययन, अनुभब र स्व:अध्ययनले कुनै बिषय बस्तुमा गहिरो सैद्धान्तिक र व्याबहारिक ज्ञान भएको ब्यक्ति त्यस बिषयको बिद्वान हुन्छ भन्ने कुरा स्पष्ट छ । ग्रिक दार्शनिकहरुले भनेका छन-अध्ययन, अनुभब, स्व:अध्ययनले प्राप्त ज्ञान “समुद्र” हो भने परीक्षामा प्राप्त नम्बरको आधार र शैक्षिक डिग्री “खोला” मात्र हो । “बिद्धता” शैक्षिक डिग्री प्राप्त गरेको जस्तो सजिलै प्राप्त गर्न सकिदैन ।

१२. राजनैतिक, बैचारिक मुद्धा नभएका कतिपय फूर्सदिला, सामाजिक ब्यक्तिहरु खुब कराउँछन, बेमौसमी बाजा बझाउँछन। मानिससँग तर्कको अन्त्य भएपछि र विवेक गुम्न थालेपछि नयाँ कथाहरु रचना गरेर होहल्ला गर्ने, गाली गर्ने मानिसको प्रवृत्ति हुन्छ। क. बामदेव गौतमका निम्ति राष्ट्रिय सभाको सदस्य ठुलो पद होइन । वहाँ धेरै पटक चुनाव जित्नु भएको, धेरै पटक उपप्रधानमन्त्री भइसक्नु भएको ब्यक्ति हुनुहुन्छ। देशका महत्वपूर्ण ब्यक्तिहरु रहने स्थान नै राष्ट्रिय सभा हो ।

तत्कालिन एमाले र माओवादी केन्द्र बिचको चुनाबी मोर्चा निर्माण र त्यसको ब्यवस्थापनमा लामो समय दिनुपर्दा, आफ्नो निर्वाचन क्षेत्रमा समय दिन नपाउँदा र अन्य केही कारणले हालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले मात्र बिजयी नहुनु भएका बामदेव गौतम जस्ता साहसिक, त्यागि, सिद्धान्तनिस्ट नेतालाई हदै सम्मको अपमान गर्नु र गर्न लगाउनु नि: सन्देह कायरतापूर्ण कार्य हो। पहिले एउटा ब्यक्तिलाई राष्ट्रिय सभा सदस्य बनाउँदा कुनै आवाज ननिकाल्ने तर बामदेव गौतमको हकमा किन हदैसम्मको बिरोध गर्ने ? यो दोहोरो मापदण्ड भएन र ?

कम्युनिस्ट पार्टीको मुटु भनेकै बिधि, पद्धति हो । निर्णय कार्यान्वयन गर्नु पार्टिको प्रमुख दायित्व हो । पार्टी सचिवालयले बिधि सम्मत ढंगले निर्णय गरेको बिषय कार्यान्वयन गर्ने कुरामा अनाबस्यक होहल्ला गर्नु हुँदैन । लेख्न, बोल्न, आलोचना गर्न धेरै सजिलो छ, कुरा काट्नमा आनन्द आउँछ । तर आलोचनाको पनि निश्चित विधि, सिमा हुन्छन् होइन र ?

डा. अधिकारी धादिङ २ (१) बाट निर्वाचित नेकपाका सांसद हुन् । 
Email: [email protected]

प्रतिक्रिया