मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

श्रीमती र सम्पत्ति गुमाएका एक ‘खाडी पुरुष’को क्रन्दन ! [भिडिओ रिपोर्टसहित]

'श्रीमती, सम्पत्तिमा सशस्त्र जवानको आँखा'

काठमाडौं । सामान्य लेखपढ भएको एक युवक रोजीरोटीका लागि खाडी पुग्छ । दुःख, कष्ट र विदेशी भूमिमा गरिने असह्य अपमानजनक व्यवहारलाई सहेर केही कमाउँछ, केही जमाउँछ । बिहे गरिसकेको उसलाई आफ्नो परिवार (श्रीमती) भन्दा ठूलो केही छैन भन्ने लाग्छ ।

त्यही आफ्नो दृढ सोचलाई शिरोधार्य गरेर आफूले कमाएको सबै सम्पत्ति परिवारलाई पठाउँछ । तर, बीचमा आफ्नो श्रीमती अरुले नै बिहे गरेको सुन्छ । हतासमा घर फर्किन्छ । न श्रीमती साथ लाग्छिन्, न सम्पत्ति नै हात लाग्छ । अहिलेका लागि यो कथा भोजपुरका भीमकुमार तामाङको हो । त्यसो त यो पीडाबोध भएको कथा विदेशी भूमिमा पुगेका प्रायः ‘खाडी पुरुष’को कथा हो ।

यहाँ भीमकुमारको कथा त एउटा प्रतिनिधि कथा मात्रै हो । यस्ता कथाहरु त नेपाली समाजको घुम्तीघुम्तीमा भेटिन्छन् आजभोलि ।

भीमकुमार आजभन्दा करिब ४ वर्ष अगाडि खाडी मुलुक साउदी पुगे । धेरै कमाउने अनि दुई छाक निर्धक्क खाने ठूलो सपना बोकेका उनी साउदी पछि कतार गएका थिए । ३ वर्ष साउदीमा व्यतित गरेका उनले धेर-थोर पैसा कमाए । सुन कमाए । ४५/५० डिग्रीको तापक्रममा पसिना बगाएरै भए पनि १२ लाख पैसा र करिब ४ तोला सुन कमाउन सक्षम रहे । अनि पठाए आफूले सर्वस्व ठानेका परिवार (श्रीमती)लाई । साउदीकाे ताताे हावाबाट मुक्ति पाउन र परिवारलाइ सुखसँग राख्ने चाहनामा उनलाइ पुनः कतारले तान्याे ।

तर अफसोच, उनी कतारमा रहँदै अनपेक्षित घटना घट्यो । उनले आफ्नो श्रीमतीलाई अर्कैले बिहे गरेर लिएर गएको सुने ।  आफुले सर्वस्व गुमाएको ठम्याउँदै  हतास भएर घर फर्किए । न श्रीमती साथ लागिन् न पैसा नै  । सिर्फ एक्लो भए ।

'केही थान सपना बोकेर बिहेपछि देशको संघीय राजधानी काठमाडौं आएको ‘परिवार मिलान’को दुःखद् समाप्ती भयो । त्यसपछि श्रीमतीको मनमौजीसँग हारेका भीमकुमारले अहिले काठमाडौंमा ज्यामी काम गरेर एक छाक खाइरहेका छन् ।'

केही थान सपना बोकेर बिहेपछि देशको संघीय राजधानी काठमाडौं आएको ‘परिवार मिलान’को दुःखद् समाप्ति भयो । श्रीमतीको मनमौजीसँग हारेका भीमकुमार अहिले काठमाडौंमा ज्यामी काम गरेर एक छाक खाइरहेका छन् ।

९ वर्षे आफ्नो छोरा मावला (श्रीमतीको माइत)मा छाडेर बेठेगान हिँडेकी श्रीमतीसँग बुनेका केही थान सपनाहरु आज साँच्चै नै सपना नै हो भनेर दस्तावेजीकरण भएका छन्, भीमकुमारका ।

आफू घर आइपुगेपछि सर्वस्व गुमेको कुरा कुनै पनि सम्बन्धित निकाय र व्यक्तिले चासो नदिएकोप्रति भीमकुमारको ठूलो गुनासो छ । हुन पनि १२ लाख पैसा अनि ४ तोला सुन कमाएर पनि दुई छाक खानको लागि इटा बोक्नुपर्छ भने खैर, कसको मन गुनासो बिहीन हुँदा हुन् र ?

९ वर्ष अगाडि खोटाङकी सम्झना तामाङसँग जीवनलाई एक बनाउने ‘भीमकाय निर्णय’गरेका भीमकुमार आज आफ्नो सर्वस्व गुमाएको ठान्छन् । बिहेपछिको ३ वर्ष नेपालमै बसेर दुःख, सुख, बाधा अनि अड्चनलाई सम्झनासँगै झेलेका भीमकुमारको जीवन आज इटाभट्टासँग जोडिएको छ ।

३ वर्षको नेपाल बसाईमा पनि होटल तथा रेष्टुराँमा काम गरेर राम्रोसँग काठमाडौंमा परिवार पालेका भीमकुमारलाई आफ्नो परिवार पाल्न सक्दिनँजस्तो कहिल्यै लाग्दैनथ्यो । तर, विडम्बना आज आफ्नो पेट पाल्न पनि हम्मेहम्मे भएको सुनाउँछन् ।

भीमकुमार श्रीमती हिँड्नुमा श्रीमतीलाई नै दोषी पनि देख्दैनन् । उनले जाने/बुझेअनुसार उनको आफ्नो श्रीमती एक सशस्त्र प्रहरी जवानले ललाईफकाई गरेर हिँडाएको छ ।

श्रीमती, सम्पत्ति र सशस्त्र जवानको आँखा

भीमकुमारलाई सम्झनासँग धेरै गुनासो छैन । सम्झनालाई अर्कैले ललाइफकाई गरेर हिँडाएको र उनैसँग धेरै गुनासो नभएको भीमकुमारको भनाइ छ ।

भीमकुमारका अनुसार सम्झनालाई गाउँकै सशस्त्र प्रहरीले ललाईफकाई हिँडाएको हो । श्रीमती र सम्पत्ति गुमाएपछि खोजीनीतिको क्रममा आफूले थाहा पाएको बताउने भीमकुमार विराटनगर दरबन्दी भएका एक सशस्त्र प्रहरी जवानले आफ्नो श्रीमतीलाई हिँडाएको बताउँछन् ।

“मेरो श्रीमती पनि खासै त्यस्तो खाले थिएन । तर, त्यो सशस्त्रले मेरो श्रीमतीलाई ललाईफकाई गरेर हिँडायो ।”

“मेरो श्रीमती पनि खासै त्यस्तो खाले थिइन । तर, त्यो सशस्त्रले श्रीमतीलाई ललाईफकाई गरेर हिँडायो ।” सम्बन्धित निकायले आफ्नो समस्या सम्बोधन नगरेपछि मकालु खबरको कार्यालयसम्म तानिएका भीमकुमारले भने, ‘अरुभन्दा पनि मैले पठाएको पैसा र सुनमा त्यो सशस्त्रले आँखा लगाएको हुनुपर्छ । मेरी श्रीमतीले त म फर्किने बेलासम्म पनि केही पैसा ब्याजमा लगाएको छु । सुन आफैँसँग सुरक्षित छ भन्दै थिइन् । मेरो सम्पत्तिमा सशस्त्रको आँखा लाग्यो ।’

सशस्त्र जवान विनोद थापा प्रति भीमकुमारको आक्रोश

आफ्नो श्रीमती हत्याउने सशस्त्र प्रहरी जवानको नाम विनोद थापा भएको भीमकुमार बताउँछन् । ‘त्यो सशस्त्र पनि खोटाङकै हो । उसको नाम विनोद थापा हो । उसको दरबन्दी चाहिँ विराटनगरको पानीट्याङ्की हो । मेरो श्रीमतीलाई फकाएर लगेको हो । मलाई राम्रोसँग जिउन पाए पनि पुग्छ । क्षतिपूर्ति चाहिन्छ । पहिले मैले कमाएको खर्च फिर्ता पाए पनि हुन्थ्यो । मैले कति कमाएँ, सबै नै घर पठाएको थिएँ । आज त्यो मेरो सम्पत्ति कहाँ छ ?’

भीमकुमारको चाहना छ, ‘सशस्त्रलाई कारबाही होस् । त्यो सशस्त्रमाथि कारबाही हुनुपर्छ । मैले मेरो सम्पत्ति फिर्ता पाउनुपर्छ । मलाई पनि त मेरो सम्पत्तिको माया लाग्छ । अरुको श्रीमती हत्याउनेलाई कारबाही हुनुपर्छ । तर, विडम्बना मलाई कसैले पत्याउँदैनन् । मैले कसरी न्याय पाउने ?’

भीमकुमार आफूलाई कुनै निकाय तथा व्यक्तिले नपत्याएकोमा दुःखी छन् ।

आफ्नो दुःखको सम्बोधन
खाडीमा करिब ४ वर्षको कठोर संघर्षपछि केही चैनको भावना बनाएका भीमकुमारको समस्याको सम्बोधन गाउँपालिकाको कार्यालयसँगै प्रहरी कार्यालय अनि प्रशासन कार्यालयसम्मले पनि गरेका छैनन् ।

उनी दुःखी हुँदै आफ्नो दुःख र कष्टको कदर कहीँ नभएको बताउँछन् । आफ्नो दुःख र भावनाको सम्बोधन कहीँ पनि नभएप्रति भावविह्वल भएका भीमकुमार भन्छन्, ‘मैले गाउँपालिकादेखि जिल्ला प्रशासन कार्यासम्म चहारेँ । तर, कतै पनि मेरो दुःख, कष्ट र भावनाको सम्बोधन भएन । मलाई यसमा चाहिँ धेरै दुःख लागेको छ । म जस्तो एउटा सोझोलाई कसैले पनि नपत्याउने रहेछन् । त्यसैले म यहाँसम्म आएको हुँ ।’ मकालु खबरकाे कार्यालयमा देखा परेका भीमले भने ।

दुई छाक खान धौ–धौ
करिब ४ वर्षको अवधिमा अनेकन बाधाहरु झेल्दै १५/१६ लाख कमाएको भीमकुमारलाई आज दुई छाक खान धौ धौ छ ।

श्रीमती र सम्पत्ति दुवैले साथ छाडेको उनको दिनचर्या इटा बोक्नु हो । “मैले कमाएर पठाएको सबै पैसा कहाँ पुग्यो । आज मलाई दुई छाक खानलाई मुस्किल पर्छ । दिनभरि इटा बोक्नुपर्ने बाध्यता छ । आज मेरो साथमा २/४ हजार मात्रै भइदिएको भए कति हुन्थ्यो । आज त मलाई २ हजार रुपैयाँ कमाउनलाई ४/५ दिन ठ्याम्मै लाग्छ । मैले कमाएको पैसामा आज त्यो सशस्त्रले रजाइँ गरेको छ । साह्रै दुःख लागेको छ ।” भीमकुमार भन्छन्, ‘आजसम्म मैले गरेको दुःखमा त्यसले रजाइँ गरेको छ । मेरो पाप लाग्छ ।’

तँभन्दा ठूलै मान्छेसँग गएकी छे
केही पैसा कमाएर केही थान सपना पनि सँगै लिएर फर्किने सोचका बेग्र भीमकुमार आफ्नो श्रीमतीको खोजीमा ससुराली (खोटाङ)सम्म पनि पुगे ।

सद्भाव अनि सहिष्णुता बोकेर ससुराली पुगेका भीमकुमारलाई सासू–ससूराले पनि राम्रो व्यवहार गरेनन् । उनलाई उल्टै भनियो–‘तँभन्दा त ठूलै मान्छेसँग गएकी छे ।’

भिडिओ रिपोर्ट यहाँ हेरौँ–

प्रतिकृयाहरु
Loading...