संसदीय समितिबाट तीन देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन

काठमाडौँ । सरकारले प्रस्ताव गरेका तीन देशका लागि राजदूतहरुको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिको बैठकले सरकारले प्रस्ताव गरेका तीन राजदूतहरुको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिले जर्मनका लागि प्रस्तावित राजदूत रामकाजी खड्का, बेल्जियमका साथै युरोपियन युनियनका लागि प्रस्तावित राजदूत गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि प्रस्तावित राजदूत तापस अधिकारीको नाम राजदूतमा अनुमोदन गरेको छ ।

संसदीय समितिमा तीनवटै देशका प्रस्तावित राजदूतहरुले आफ्नो योग्यता, जिम्मेवारी, अवधारणा कार्ययोजनाबारे प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिपछि समितिले प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदित गरेको हो। योग्यता क्षमता र अनुभवको आधारमा प्रस्तावित व्यक्तिहरू योग्य देखिँदा संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

प्रस्तावित राजदूतहरूले अबको कूटनीति आर्थिक क्षेत्रमा केन्द्रीत हुनुपर्ने भन्दै आफूहरू पनि सोहीअनुसार भूमिका निर्वाह गर्ने उनीहरूको भनाइ थियो । प्रस्तावित राजदूत राजभण्डारी विरुद्ध मात्रै उजुरी समितिमा परेको थियो । उनले उजुरी हास्यास्पद रहेको भन्दै प्रष्टिकरण पनि दिएका थिए ।

संसदीय समितिबाट अनुमोदन भएका राजदूतहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया