चाँगुनारायण नगरपालिका द्वारा दुई महत्वपूर्ण कार्यक्रम सुरु

काठमाडौं । चाँगुनारायणले नगरपालिकाले नगर परिषदबाट पारित गरेको ‘बचत खाता छोरीको, सुरक्षा जिवनभरिको’ र ‘मेयर उद्यमशिलता कार्यक्रम’ सुरु गरेको छ ।  नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेपछि कार्यक्रमको सुरुवात गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ को महत्त्वपूर्ण कार्यक्रम ‘बचत खाता छोरीको, सुरक्षा जिवनभरिको’ र ‘मेयर उद्यमशिलता कार्यक्रम’ सञ्चालनको लागि बैँकसँग सम्झौता गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताएका छन् ।

सम्झौता अनुसार बचत खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रम कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि बनाई पारित समेत गरिसकेको छ । ‘बचत खाता छोरीको, सुरक्षा जिवनभरिको’ अन्तरगत नगरपालिकाको स्थानिय सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको बैंक खाता खोलिने छ ।

खातामा नगरपालिकाले प्रत्येक वर्ष चार हजार रुपैँया जम्मा गरिदिने नगरपालिकाले जनाएको छ । यसरी खातामा जम्मा भएको रकम छात्राहरूले सामुदायिक विद्यालयबाटै मा.वि तह पास गरे पश्चात् झिक्न पाउने छन् ।

यस बाहेक अरू मापदण्ड यस कार्यक्रमको शर्तहरू उल्लेख गरिएको छ । यस कार्यक्रमले नगरक्षेत्रमा बालबिबाह, स्कुल ड्रपआउट संख्या घटाउनु साथै सामुदायिक बिधालय प्रतिको आर्कषण बढाउने नगरपालिकाले विश्वास लिएको छ ।

‘मेयर उद्यमशिलता कार्यक्रम’ अन्तरगत नगरपालिकाले उद्यमशिलता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार नगरपालिका भित्र उद्यम गर्न चाहने बेरोजगार युवा र बिदेशबाट विभिन्न कारणले स्वदेश फिर्ता भएका युवा हरुलाई रु ३ लाख सम्म ऋण नेपाल बैंकले उपलब्ध गराउने छ । उक्त ऋण रकमको ब्याज नगरपालिकाले बेहोर्ने छ ।

स्वदेशमै केही गरौ भन्ने युवाहरूलाई प्रोत्साहन स्वरुप र नगरपालिका भित्र बेरोजगारलाई स्वरोजगारमा बदल्न कार्यक्रम फलदायी हुने नगर प्रमुख मिश्रको विश्वास लिएका छन् ।

प्रतिक्रिया