‘हारेकाहरुलाई राष्ट्रिय सभामा ल्याएर जनमत र संविधानकै धज्जी उडाइयो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले जनमत गुमाएकालाई राष्ट्रिय सभामा मनोनित गरेर लैजाँदा आम जनतालाई मात्र हैन स्वयं नेकपाका इमान्दार तथा पार्टीको सिद्धान्त र विधिमा चल्ने कार्यकर्तालाई पनि रुचेको छैन ।

नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेसँगै नेकपाको चौतर्फि विरोध भएको छ । जनमत गुमाएका निर्वाचनमा हारेकाहरुलाई राष्ट्रिय सभामा लैजाँदा पार्टीको मात्र नभएर राष्ट्रिय सभाकै गरिमा धुमिल भएको जनआक्रोस छ ।

सत्तारुढ नेकपा सुदुरपश्चिम प्रदेशका सदस्य युवा नेता शंकर भण्डारीले पनि निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रिय सभा जस्तो गरिमामय स्थानमा लैजान नहुने बताउँछन् । स्पष्टवक्ताका रुपमा सुदुरपश्चिम क्षेत्रमा परिचित भण्डारीले मकालु खबरसँगको भेटघाटमा आफ्नै पार्टीको निर्णय प्रति गम्भिर असहमति जनाए ।

‘राष्ट्रिय सभामा हारेकाहरुलाई मनोनित गर्दै ल्याइएको छ । यो सरासर गलत छ । यसले संविधानकै धज्जी उडाएको छ ।’ भण्डारीले भने । वडा सदस्यमा पराजित भएका समेत आज राष्ट्रिय सभामा मनोनित भएका र नगरपालिका, गाउँपालिकामा पराजित भएकाहरु प्रदेश प्रमुखहरु बनाइएको जिकिर गर्दै भण्डारीले जनताले पाँच वर्षका लागि म्याण्डेट नदिएकाहरुनै सम्मानीत पदमा आसिन हुँदा संविधान र जनमतको अवमुल्यन भएको तर्क गरे ।

‘जनताले अब पाँच वर्ष तिमीहरुलाई म्याण्डेट छैन है, तपाईहरु फेरी राम्रो काम गरेर आउनुस त्यसपछि मात्र तपाईंहरुलाई चुन्छौं भनेर जनादेश दिएका थिए । तर, जनताको जनादेशको उलंघन गरेर नेपालको संविधानलाई धज्जी उडाएर नेपालको राजनीतिमा जुन प्रकारको कल्चरको विकास भएको छ यो सरासर गलत हो ।’

भण्डारीले अहिले ६ जना भन्दा बढि विभिन्न पार्टीबाट पराजित अनुहार राष्ट्रिय सभामा आएको दावि गर्दै जनताको मतलाई दलहरुले अपमान गरेको पनि बताए । जसले राष्ट्रका लागि योगदान गरेका छन् जसको विज्ञताले मुलुकको विकास र समृद्धिमा टेवा पुग्छ त्यस्ता व्यक्तिहरु राष्ट्रिय सभामा आउनुपर्नेमा जनताद्वारा बहिस्कार भएकाहरुलाई ल्याएर गलत राजनीतिक संस्कारको पनि विकास भएको बताए ।

‘जनताका माझ लोकप्रिय भएकाहरु, चुनाव नलडेका, दिग्गज विज्ञ मान्छेहरु राख्नु पर्ने ठाउँमा नेताको चित्त बुझाउनको लागि, कुनै राजनीतिक नेताको पावर सेन्टरमा रमाउनेहरुको लागि हारेकाहरुलाई राष्ट्रिय सभामा ल्याउने काम भएको छ ।’ भण्डारी भन्छन् ।

आफ्नै पार्टीका नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर ल्याउने काम भएको प्रति पनि भण्डारीले चर्को असहमति जनाए । पाँच वर्षमा जनताले बहिस्कार गरिसकेको अवस्थामा नेता गौतमले पटकपटक प्रधानमन्त्री हुन्छु, सरकार चलाउँछु भन्नु गलत संस्कार बसाउने काम वाहेक केही नहुने जिकिर गरे ।

‘कमरेड बामदेव गौतम जस्तो व्यक्तिले म यो देशको प्रधानमन्त्री हुन्छु, कहिले डोल्पाबाट उठ्छु कहिले काठमाडौंबाट उठ्छु, पोखराबाट उठ्छु भनेको आउँछ । राष्ट्रिय सभामा जान्छु भनेर पटकपटक आफ्नो पदको दुरुपयोग गर्ने हो ? कति मरिहत्तै गरेको पदको लागि ?’ भण्डारीले प्रश्न गरे ।

नेताहरुमा पद प्राप्त भएन भन्दैमा सबै कुरा बेठिक भन्ने संस्कार विकास भएको उनको भनाई छ । जनताले दिएको मतलाई कसैले अपमान गर्न नपाईने युवा नेता भण्डारीको भनाई छ । उनले हरुवाहरुलाई ल्याएर राष्ट्रिय सभालाई भर्ति केन्द्र बनाएको समेत जिकिर गरे । ‘आर्यघाट नपुञ्जेलसम्म, वेड विस्तरामा ऐया भनेर नपुगुञ्जेलसम्म पदमै बस्ने होर ?’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखि विभिन्न संबैधानिक निकायमा योग्यताको आधारमा भन्दा पनि भागवण्डाको आधारमा पदाधिकारी नियुक्त गर्ने परिपाटी पनि गलत भएको बताएका छन् । यसले प्रधानमन्त्री केपी शर्मा ओलीले परिकल्पना गरेको संमृद्ध नेपाल सुखी नेपालीको सपना साकार नहुने पनि भण्डारीले बताए ।

हेर्नुहोस भिडियो….

प्रतिक्रिया