कंगनाको अफिसमा चल्यो डोजर

एजेन्सी । अभिनेत्री कंगना रनावत मुम्बई पुग्नुभन्दा अगाडि नै मुम्बई नगर निगम (बीएमसी) ले उनको अफिसमा डोजर चलाएको छ । उनको मुम्बईस्थित अफिसमा अवैध निर्माणलाई लिएर बीएमसीले २४ घण्टामा दोस्रो नोटिस पठाएको थियो । यसको केही घण्टामा बीएमसीको एक टिमले डोजर र क्रेनसहित अफिस तोडफोड गरेको छ । कंगनाको अफिस बान्द्राको पाली हिलमा अवस्थित छ ।

कंगनाले बीएमसीले गरेको यो कारवाहीलाई लिएर लगातार ट्विट गरिरहेकी छन् । उनले यो एक अफिस नभएर राम मन्दिर रहेको बताएकी छन् । बीएमसीको कारवाहीको विरुद्धमा कंगनाका वकिलले बुधबार दिउँसो हाईकोर्टमा मुद्धा दर्ता गरेका छन् । कंगनाले आफू मुम्बई आउनुभन्दा अगाडि नै महाराष्ट्र सरकार र गुण्डाले आफ्नो अफिस भत्काउने काम गरेको आरोप लगाएकी छन् ।

४८ करोडमा निर्माण गरिएको आफ्नो अफिस तोडफोड गरिएपछि कंगनाले ट्विट गर्दै लेखेकी छन्, ‘मेरो घरमा कुनै अवैध निर्माण भएको छैन । कोभिडका कारण सरकारले पनि ३० सेप्टेम्बरसम्म तोडफोड गर्न रोक लगाएको छ ।’ बीएमसीले भने नोटिसका बावजूद पनि कंगनाले काम नरोकेपछि घर भत्काउन बाध्य भएको बताएको छ । कंगना दिउँसो २ बजे मुम्बई ओर्लिँदैछिन् ।

कंगनाले यो तीन तल्ले भवन केही वर्ष अगाडि खरिद गरेकी हुन् । यसमा ५६५ वर्गफिट पार्किङ एरिया अलगै छ । अफिसको इन्टिरियर डिजाइनर शबनम गुप्ताले डिजाइन गरेका हुन् । उनका अनुसार, बिल्डिङको हरेक झ्यालबाट हरियाली देख्न सकिन्छ । कंगनाको यो अफिस यूरोपियन स्टाइलबाट प्रेरित छ । हालसालै उनले अफिसको डिजाइन केही परिवर्तन गरेकी थिइन् ।

प्रतिक्रिया