चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

काठमाडौं । चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गएराती निधन भएको हाे । स्वास्थ्यमा समस्या भएपछि गुरुङलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । उनको कलेजोमा समस्या देखिएको थियो ।

चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर गुरुङले चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । त्यसै गरि गुरुङले चलचित्र क्लासिक, डायरी, र ए मेरो हजुरको पनि कथा लेखेका थिए । यस्तै चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गुरुङले गरेका थिए । पछिल्लो समय गुरुङले चलचित्र ‘हुतुतु’ लेखिरहेका थिए ।

गुरुङले डेब्यु गरेको चलचित्र नोभेम्बर रेनबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए । छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन भने पाएको थिएन । २०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ वर्षको उमेरमा निधन भयो ।

प्रतिक्रिया