निषेधाज्ञा खुकुलो बनाउने निर्णय, सामान्य होला जनजीवन ?

काठमाडौं । उपत्यकाका मेयरहरूको फोरमले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरी  निषेधाज्ञा खुकुलो बनाउनुपर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको उपत्यका मेयर फोरमको बैठकले उपत्यकाका सबै नाका प्रवेशमा कडाइ गर्नका लागि सेना परिचालन गर्ने र उपत्यकाभित्रको निषेधाज्ञालाई खुकुलो बनाउँदै जानुपर्ने निर्णय गरेको हो ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी उपत्यका प्रवेश गर्ने सीमा नाकामा कडाइ गर्नुपर्ने निर्णय भएको बताएका छन् ।

श्रेष्ठले सरकारको विरोध र समर्थनमा र्‍याली, भेला, अनशन, जुलुस लगायतका गतिविधि गर्न पनि निषेध गर्नुपर्ने भन्दै जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने जस्ता निर्णय गरिएको बताए ।

यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनले बन्दाबन्दीले मध्यम र निम्न वर्गका परिवारमाथि समस्या थपिँदै गएको हुँदा संक्रमितलाई अलग्गै राखेर समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न नाकामा कडाइ गर्नुपर्ने बताएका छन् ।

उनले भने ‘बन्दाबन्दीले दैनिक श्रम गरेर खाने मध्यम र निम्न वर्गका परिवारमाथि समस्या बढ्दै गएको छ, संक्रमितलाई मानिसहरुको सम्पर्कबाट अलग्गै राखेर समस्या समाधान गर्दै जाने र बाहिरबाट थपिने समस्या रोक्न नाकामा कडाइ गर्नुपर्ने निर्णय गरेका छौं ।’

यस्तै फोरमले नागरिकलाई जनस्वास्थ्यका मापदण्डबारे सचेत र जिम्मेवार बनाउँदै जाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर गराउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने लगायत निर्णय गरेको छ ।स्थानीय तहबाट प्रदान गरिएको सेवा प्रवाहलाई आवश्यकता अनुसार सुचारु गर्ने निर्णय पनि गरिएको छ ।

नगरपालिकाको प्रशासनिक काम पनि भदौ २५ गतेदेखि सुचारु हुने फोरमको निर्णय छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =