पड्के रोगले चितवनमा दुई वटा गाई मरे

चितवन । लम्पी स्किन डिजिज नामम रोगका कारण समस्यामा परेका किसानलाई अर्को चिन्ता थपिएको छ । चितवनको विभिन्न पालिकामा लम्पी स्क्रिन डिजिज प्रकोपको रुपमा फैलिएर अहिले नियन्त्रण उन्मुख छ । यस्तो बेला जिल्लाको राप्ती नगरपालिका ४ डडुवामा एक जना पशुपालक किसानले पालेको दुई वटा गाई मरेको छ ।
राप्ती नगरपालिका पशु सेवा शाखा प्रमुख पशु चिकित्सक शैलेन्द्र भन्डारिले पड्के नामक रोगका कारण एउटा गाई र बाच्छी मरेको हुन सक्ने बताए । तर पुष्टि भने भएको छैन । यो रोगका कारण गाई एकै छिनमा मर्छ । यस रोगबाट मरेका गाईको नाक, आँखा, मुख, मलद्वारबाट नजम्ने कालो खालको रगत बग्छ । यस्तो किसिमको लक्षण मरेको बाच्छिमा देखिएको पशु चिकित्सक भन्डारिले बताए ।
रोगबारे थप पहिचानका लागि गाइको नमुना बुधबार काठमाडाैं पठाइने उनले बताए । यो रोग फाट्टफुट्ट देखिने भए पनि गाईबस्तुबाट मान्छे र मान्छेबाट गाइबस्तुमा सर्छ । मंगलबार मृत्यु भएको दुई वटा गाईमा कुनै लक्षण नदेखि एक्कासी मरेको भन्डारिले बताए । ती किसानको गोठमा ६ वटा गाई रहेकोमा अन्य दुई गाई पनि बिरामी भएका छन् ।








