मोबाइल फोनको आविष्कार : बरदान कि अभिषाप ?

जब म ९/१० बर्षको थिएँ, त्यतिबेला मेराे दिनचर्या विद्यालयमा गएर पढ्ने र विद्यालय छुट्टि भएपछि साथीभाई सँग खेलेर बिथ्याे । आमाले पढ नानी भन्दा पनि खेलकुद मै बढी व्यस्त हुने हुँदा अध्ययनमा म औसत विद्यार्थी थिएँ । कक्षाकोठामा पढाइ चलिराख्दा नि कतिखेर टिफिन होला र साथीहरुसँग खेल्न पाइएला भन्ने मै बढी ध्यान केन्द्रित हुन्थ्याे ।

समय बित्दै जाँदा अध्ययनकाे खुड्किलाे उक्लँदै म कक्षा १० मा आइपुगेँ । कक्षा १० मा पुग्दासम्म आफ्ना आफन्तलाई कुनै सुचना वा सन्देश पठाउनु पर्दा कि त चिठ्ठी पत्र लेख्ने प्रचलन थियो , कि त PCO ( Public call office) मा गएर लाइनमा बसेर फोन गर्ने प्रचलन थियो । मोबाइल फोनको आविस्कार मोटोरोला कम्पनिले सन् १९७३ मै गरेता पनि मैले भने सन् २००७ (वि. स. २०६३) मा पहिलो पटक हामीलाई अंग्रेजी पढाउनु हुने सुरेन्द्र सरले प्रयोग गर्नु भएको Nokia को ब्ल्याक एण्ड ह्वाइट सेट देखेकी थिएँ । आहा ! कति राम्रो है यो फोन जता पनि सहजै लग्न मिल्ने । जतिखेर नि फोन गर्न मिल्ने । त्यस समयमा जाेसँग मोबाइल फोन हुन्थ्यो त्यसको पहिचान नै बेग्लै हुन्थ्याे ।

मोबाईल फोनको बढ्दो लोकप्रियतासँगै मेरो मन पनि त्यसमा आकर्षित हुन थाल्यो । मसँग पनि मोवाइल फोन भएको भए कति जाति हुन्थ्यो होला भन्ने सोच आएसँगै घरमा मोबाइल फोनको माग गर्न थालेँ । माग गर्ने बित्तिकै कहाँ फोन पाइन्थ्यो र ? मोबाइल पाउन नि दादा को एउटा शर्त पूरा गर्नुपर्ने स्थितिको सामना गर्न बाध्य हुनुपर्यो, त्यो थियोे कक्षा ११ मा राम्रो अंक ल्याएर उत्तीर्ण हुनु । जब कक्षा ११ उत्तीर्ण गरेँ तब शर्त बमोजिम मोबाइल फोन पाउने भएँ । दादाले टाटा इन्डिकमको ब्ल्याक एण्ड हवाइट फोनसेट दिँदा मेरो खुशीको सीमा नै थिएन । जुन खुशी अहिले मैले स्मार्ट फोन चलाउँदा समेत प्राप्त गरेकाे छैन ।

यति थोरै समयमा मेबाइल फोन तिम्राे लोकप्रियता यति बढ्यो कि म बयान गर्न सक्दिन । आजभोलि त तिमी म बाट एकछिन टाढा हुँदा नि के छुट्यो, के कुराको अभाव भयो जस्तो लाग्छ । यति छोटो समयावधिमा तिमिले मेरो मन मुटुमा यसरी एक छत्र राज गर्याै कि अब मेरो मनको राजधानीबाट म तिमिलाई बहिष्कार गर्न सक्दिन । साँच्चि तिमिले त मलाई एउटा उपहार पनि सुम्पिसक्यौ, त्यो हो चस्मा । सायद तिमिलाई बढी माया गरेकै कारण मैले यो उपहार पाएँ हुँला, जुन अब जिन्दगी भरी मसँगै रही रहने छ ।

सहज इमेल इन्टरनेट को पहुँच, स्मार्ट मोबाइल फोनको विकासले लोकप्रियता अझ बढ्दो क्रममा छ । अहिले विश्वलाई नै सानो घर बनाउन, टाढा-टाढा भएका मानिसहरुसँग नजिकको सम्बन्ध विस्तार गर्न एवम् नजिक भएका मानिसहरुसँग टाढाको सबन्ध राख्न समेत यसले महत्वपुर्ण भूमिका खेलिरहेको छ । हाल बालबालिका देखि वृद्धवृद्धा सम्म यसकाे प्रयोग गर्छन् । सबै यसैमा भुलिरहेका हुन्छन् ।

सन् २०२० सम्म विश्वमा झण्डैँ ५ विलियन मानिसहरु मोबाइल फोनको प्रयोगकर्ताको रुपमा रहेका छन् । अनलाइन खबरले सन् २०१८ अगस्ट ३० मा प्रकाशित गरेको तथ्याङ्क अनुरुप नेपालमा मात्रै कुल जनसंख्या भन्दा ३४ प्रतिशत बढी मानिसहरुले मोबाइल फोनको प्रयोग गरिएको पाइयो भने यो संख्या सन् २०२० सम्म आइपुग्दा धेरै नै बढेर गएको छ ।

मोबाइल फोनको धेरै फाइदा सँगसँगै केही बेफाइदाहरु समेत रहेका छन् । यसको बढी प्रयोगले ब्रेन ट्युमर, अलजाइमर, पार्किन्सन, ब्रेन क्यान्सर, पुरुषमा बाझोपनको समस्या, आँखा सम्बन्धि सम्मस्या एवम् राति राम्रोसँग निन्द्रा नपर्ने लगायत विभिन्न स्वास्थ्य समस्याहरु निम्तिरहेका छन् ।

आज भोलि सभा सम्मेलन, विभिन्न कार्यक्रमहरुमा मानिसहरुको भौतिक शरीर उपस्थित भएता पनि मन भने मोबाइल तिर बढी आकर्षित भएको देखिन्छ । अझ बालबालिका, किशोरकिशोरी एवम् युवाहरुमा यसको क्रेज बढ्दो छ ।

मोबाइलमै इन्टरनेटको सहायताले विभिन्न टिकटक भिडियो बनाउन एवम् गेमहरु खेल्न पाइने हुँदा पहिलेको जस्तो साथीभाइहरु सँग मिलेर खेल्ने खेलहरु प्राय लोप हुने अवस्थामा छन् । यसरी मोबाइलमै बढी व्यस्त हुँदा कतिपय बालबालिका एवम् युवाहरुको पढाइ बिग्रिने, मानसिक स्वास्थ्य समस्याहरु देखा पर्ने, अपराधिक गतिविधिमा सक्रिय हुने र कतिपयको ज्यान समेत जाने गरेको समाचारहरु बेला बखतमा सुन्न पाइन्छ ।

हुन त विश्वमा भएको जुनसुकै घटना एवम् सूचनाहरु क्षण भरमै सबैलाई जानकारी दिन यसले ठुलो सहयोग समेत गरेको छ । तर यसको सही प्रयोग गर्न नसक्दा केही समस्याहरु भने पक्कै पनि निम्त्याएको छ । समाजमा भएका मानिसहरुको आत्मिय भावना, सहयोगी भावना विस्तारै कम भएको महसुस गर्न थालेकी छु ।

समाजमा कुनै अप्रिय घटना घट्दा त्यसमा सहयोग गर्नुको सट्टा मोबाइलबाट भिडियो बनाएर बस्ने प्रचलनले साँच्चै समाज कतातिर गइरहेको छ, साेच्नैपर्ने अवस्था छ । नजिकका मानिसलाई टाढा टाढा बनाएको छ भने टाढाका मानिसलाई नजिक बनाएको छ । वर्तमान समयमा मोबाइल फोन एवम् इन्टरनेटको आविस्कार वरदान सावित भएकाे छ वा यसले बरवादीतर्फ धकेलिरहेकाे छ, त्याे बुझ्न कठिन छ ।

(लेखक लक्ष्मी बोहरा कञ्चनपुरकाे बेलाैरीस्थित श्री महाकाली बहुमुखी क्याम्पसकी सहायक प्राध्यापक हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *