यी हुन् नक्कली कार्डकाे धन्दा चलाउनेहरू, एउटै कार्डकाे लिन्थे ५०० !

काठमाडौं । नक्कली प्रेस कार्ड बनाएको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजारबाट ४ जना पक्राउ परेका छन् । काेराेना महामारीलाई नियन्त्रण गर्न निषेधाज्ञा समेत लागू भएको अवस्थामा काठमाडौं बागबजारस्थित लक्ष्मणको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिले विभिन्न व्यक्तिहरुको नामबाट नक्कली प्रेस कार्ड बनाएकाे भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले प्रिन्टर्सका संचालक लक्ष्मण सहितलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नवलपरासी (पश्चिम) सुस्ता बर्दघाट नगरपालिका-१३ घर भई काठमाडौं रातोपुल बस्ने ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दिया राजापुर नगरपालिका-१० घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय श्रीराम खड्का, नवलपरासी (सुस्ता पूर्व) कावासोती नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३१ भिमसेनगोला बस्ने २९ वर्षीय रमेश कुमार रेग्मी र स्याङ्जा जगतत्रादेबी गाउँपालिका-९ घर भई हाल काठमाडौं टोखा नगरपालिका-४ धापासी बस्ने ३९ वर्षीय राजेन्द्र राज भण्डारी छन् ।

उनीहरूले अस्पतालको नक्कली परिचयपत्र बनाई प्रति ५ सय भन्दा बढीमा कार्ड बिक्री वितरण गर्ने गरेको र सो कार्डहरु देखाई मानिसहरु आवतजावत गरी सार्वजनिक हित तथा स्वास्थ्य सुरक्षामा समेत आँच पुर्‍याएको प्रहरीकाे आरोप छ।

उक्त प्रिन्टर्सबाट १० थान विभिन्न मिडियाहरुको नामको प्रेस आईडि कार्ड, १५ थान विभिन्न अस्पतालको नक्कली परिचयपत्र, ३ थान विभिन्न प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र, ३ थान अन्य व्यक्तिहरु समेतको नक्कली परिचयपत्र, १ थान कटर मेसिन, १ थान स्क्यानर, १ थान कम्प्युटर, २ थान प्रिन्टर, १ थान डेबुक र २० थान एफोर साईजको प्लाष्टिक पेपर र १ थान लेमिनेशन मेसिन प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =