घरमाथि पहिराे खस्दा २० वर्षीया किशोरीको मृत्यु
२०७७ भदौ २३ गते

प्रतिकात्मक तस्विर
काठमाडाैं । कास्कीमा अविरल वर्षासँगै आएको पहिराेका कारण घर भत्किँदा एक किशाेरीकाे मृत्यु भएकाे छ । आज (मंगलबार) बिहान अन्दाजी ४ः२५ बजेको समयमा रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथि पहिराे खसेर घर पुरिँदा उनकी २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको हाे ।
घरभन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी भिरचोक तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो । शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइँदै छ ।
२०७७ भदौ २३ गते
प्रतिक्रिया








