‘लगातारको लकडाउनले जनता भोकभोकै रहनुपर्ने अवस्था बन्यो’ डा. शेखर

काठमाडौं । सरकारमा रहेको दल आन्तरिक झगडामा अलमलिने र जनता भोकभोकै रहनुपर्ने अवस्था आएको नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । उनले नेकपा सरकारले बाह्य सम्बन्ध समेत ध्वस्त पार्ने काम गरेको आरोप समेत लगाए ।

आफैँले आयोजना गरेको ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तरक्रियामा बोल्दै नेता डा. कोइरालाले बर्तमान सरकारबाट जनताले अपेक्षा गरे अनुरुप कुनै काम नभएको बताउँदै महामारीका बेलामा पनि सरकार जनउत्तरदायी बन्न नसकेको बताए । ‘कोरोना संक्रमणले लगाइएको लगातारको लकडाउनले जनता भोकभोकै मर्ने अवस्था आइसक्यो, सरकारलाई मतलवै छैन ।’ डा. कोइरालाले भने ।

उनले बर्तमान सरकारले विदेशी सम्बन्धहरुमा समेत दरार पैदा गराएको दावि गर्दै जनताले पनि दुईपक्षीय र बहुपक्षीय सम्बन्ध धुमिल बनाउने काम किन गरियो भन्ने बुझिरहेको बताए । एक छिमेकविरुद्ध अर्को प्रयोग गर्ने र शक्ति मुलुकबाट आएको सहयोगमा विरोध गर्ने काम दलभित्रैबाट गराएर सहयोग नभई ऋणमा मुलुकलाई फसाउने कार्यतर्फ सरकारउन्मुख बनेको डा. कोइरालाको तर्क छ ।

कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका मुख्य दावेदार डा. कोइरालाले अहिलको संकटपूर्ण अवस्थामा राज्यले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा उल्टो आन्तरिक कलहमा रुमलिएको बताए । साथै उनले अब नेपाली जनताले कम्युनिस्ट सरकारप्रति विस्वास गर्ने वातावरण पनि गुमेको तर्क गरे ।

कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सरकारले वैचारिक सम्बन्ध भएका मुलुकसँग मात्रको सहकार्यले उत्तर कोरियाको झल्को दिन सक्ने बताए । भने कम्युनिस्टहरु संसारबाटै हराउँदै गएको र अब नेपालमा पनि उधोगती तर्फ लागेको तर्क गरे ।

कांग्रेसले गठन गरेको छाया सरकारका परराष्ट्रमन्त्रीसमेत रहेका डा. नारायण खड्काले कांग्रेसले कूटनीतिक मामिला र आन्तरिक विषयमा चासो देखाएर काम गरिरहेको बताउँदै कुनै पनि सम्बन्धलाई नबिगारी विश्व मञ्चमा नेपाल सक्रिय रहनुपर्नेमा नेपालको वर्तमान नेतृत्वले त्यसतर्फ ध्यान दिन नसकेको औंल्याए ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले सरकारले कूटनीतिलाई मजाक बनाएको बताए । अर्का पूर्वपरराष्ट्रसचिव एवं राष्ट्रसंघका पूर्वउपमहासचिव ज्ञानचन्द्र आचार्यले पनि विश्व परिवेशबाट नेपाललाई एक्ल्याउने काम वर्तमान सरकारले गरेको बताए ।

यता पूर्वराजदूत डा. दिनेश भट्टराईले पनि अतिराष्ट्रवादको नाराले मात्र मुलुकको मुहार नफेरिने भन्दै अहिलेको सरकारले सबैलाई चिढाउने र आफ्नो मुलुकको भूराजनीतिक अवस्थिति बिर्सने काम गरिरहेको बताए ।

दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमख निश्चलनाथ पाण्डेले सार्कको अध्यक्षसमेत रहेको नेपालले कोभिडको समयमा नेतृत्वदायी भूमिका खेल्न नसकेको जिकिर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *