भारत-चीन तनाव: विवादित क्षेत्रमा दोहोरो फायरिङ

काठमाडौं । चीनको जनमुक्ति सेनाले भनेको छ भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ । तर कस्तो जबाफी कारबाही भन्ने उसले प्रस्ट पारेको छैन ।

जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक तथा अज्ञात सङ्ख्यामा चिनियाँ सैनिक मारिएपश्चात् दुई देशबीच तनाव झन् झन् बढिरहेको छ । सोमवार भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ ।

चीनको सेनाका प्रवक्ता वरिष्ठ कर्नेल जाङ् शियुलीले एक वक्तव्य जारी गर्दै भने, “भारतीय सैनिकहरूले भारत-चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेका छन् र पाङ्गोङ् त्सो तालको दक्षिणी किनाराको नजिक शेनपाओ पहाडी इलाकामा घुसेका छन् ।”

वक्तव्यका अनुसार भारतीय सेनाको उक्त कदमले दुई पक्षबीच बनेको सहमतिको गम्भीर उल्लंघन गरेको छ । यसले त्यहाँ तनाव बढ्ने भन्दै प्रवक्ताले यसलाई गम्भीर भड्काउपूर्ण कदम भनेका छन् । चिनियाँ सेनाले आफ्नो क्षेत्रको सम्प्रभुताको रक्षा गर्ने उनले बताए ।

सो घटनाबारे भारतको प्रतिक्रिया आएको छैन । दुवै देशले सो क्षेत्रमा हजारौँ फौज परिचालन गरेका छन् ।

नागरिक कब्जा गरेको दाबी
दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती राज्यबाट पाँचजना भारतीय नागरिकलाई कब्जामा लिएको विवरणपनि आएका छन् ।

तीन दिनअघि अरुणाञ्चल प्रदेशका एक सांसदले ट्वीट गर्दै पहिलोपटक त्यस्तो आरोप लगाएका थिए । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई “हटलाइन सन्देश” पठाइएको बताए । भारत र चीनका विदेशमन्त्रीको भेटघाट हुने निर्धारण भएको समयमा पछिल्लो विवाद चर्किएको छ ।

भारतका विदेशमन्त्री एस जयशङ्कर मङ्गलवार चारदिने यात्राका निम्ति रुसको राजधानी मस्को जाँदै छन् । त्यहाँ हुने शाङ्घाइ सहयोग सङ्गठनको विदेशमन्त्री स्तरीय भेलामा उनी सहभागी हुनेछन् । आठ सदस्यीय उक्त सङ्गठनमा भारत र चीन दुवै सदस्य छन् । सो भेलाको बेला भारतीय विदेशमन्त्रीले चिनियाँ समकक्षी वाङ् यीसँग द्वीपक्षीय कुराकानी गर्ने बताइएको छ । –बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *