‘लोकतन्त्र नै उत्तम हुन्छ, निरङ्कुशतन्त्र होइन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले लोकतन्त्र नै उत्तम व्यवस्था भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत् समसामयिक विषयमा टिप्पणी गरेका प्रवक्ता श्रेष्ठले निरङकुशता नभइ लोकतन्त्र नै उत्तम व्यवस्था भएको बताएका हुन् ।
‘लोकतान्त्रिक पद्धतिअन्तर्गत कार्य गर्दा केही प्रक्रियागत ढिलाई हुन सक्छ। विचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा । निरङ्कुश तानाशाहीतन्त्र छलफलको ‘झन्झट’बाट मुक्त र छिटो काम हुने व्यवस्था लाग्न सक्छ । तर, लोकतन्त्र नै उत्तम हुन्छ, निरङ्कुशतन्त्र होइन ।’ उनले फेसबूकमा स्थिति राख्दै लेखेका छन् ।
त्यस्तै प्रवक्ता श्रेष्ठले स्वार्थी र अन्ध प्रशंसकको नभएर आलोचनात्मक चेत भएका मित्रहरुको भर गर्न पार्टीका नेता–कार्यकर्तालाई अपिल समेत गरेका छन् ।
‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठीक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन् ।जबकि, निहीत स्वार्थ केन्द्रित अन्ध चाकडीबाजहरुले प्रशंसा र भजन मात्रै गाँउछन् र डुबाउँछन् । त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौँ, स्वार्थी अन्ध प्रशंसकमा होइन ।’ उनले लेखेका छन् ।
देशमा लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नुपर्छ भन्ने पार्टीभित्रको नेता/कार्यकर्ता र चाकडी गरेको मन पराउने नेताहरुप्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।








