पूर्वी चितवनमा आइसोलेसन विस्तार, ८६ बेड पुग्यो

चितवन । कोरोना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या बढ्दै गएपछि पूर्वी चितवनमा धमाधम आइसोलेसन विस्तारको काम भइरहेको छ । यहाँका चार नगरपालिकाहरु संयुक्त रुपमा सञ्चालन गर्ने गरि आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेका छन् ।
नगरपालिकाहरूले रत्ननगर ५ स्थित केन्द्रिय साना किसान कृषि सहकारी संघको तालिम तथा अनुसन्धान केन्द्रको भवनमा आइसोलेसन बनाएका छन् । सुरुमा २१ बेड क्षमताको बनाइए पनि संक्रमितको संख्या बढेपछि सोही कार्यालयको अर्को भवनमा थप बेड व्यवस्थापन गरि क्षमता बिस्तार गरिएको खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले जानकारी दिए । त्यसको व्यवस्थापनकाे खर्च चारै नगरपालिकाले ब्यहोर्ने छन् । आइसोलेसनमा २ जना स्वास्थ्यकर्मी चारै पालिकाले पालैपालो खटाएका छन् भने प्रहरी समेत राखिएको छ ।
कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्दै गएपछि राप्ती नगरपालिकास्थित कृषि बिकास बैंक बागमती प्रदेश कार्यालय बिरेन्द्रनगरमा आइसोलेसन बनाउने निर्णय भएको छ । सो कार्यालय एउटा ब्लकमा ३२ बेडको आइसोलेसन बनाउने निर्णय भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् । रत्ननगरको आइसोलेसन भरिएपछि सो आइसोलेसनमा संक्रमितहरुलाई राखिने बरालले बताइन् ।
आइसोलेसन स्थापना गर्ने विषयमा छलफल गर्न शुक्रबार बागमती प्रदेश सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा बैठक बसेको थियो । मन्त्री लामाकै पहलमा सो कार्यालय आइसोलेसन बनाउन दिन सहमत भएको हो । बैठकमा मन्त्री लामाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा जनप्रतिनिधिले देखाएको सक्रियताप्रति प्रशंसा गर्दै धन्यवाद दिए । कोरोनाको संक्रमण झन् बढ्दै गएको भन्दै नियन्त्रणका लागि सबै पक्षले तदारुकता देखाउनु पर्ने बताए ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले विभिन्न उद्योगले रेड जोन क्षेत्रबाट कामदार लुकाएर ल्याउँदा जोखिम बढेको बताए । बनले गुन्जमान सिंह अस्पतालमा आइसोलेसन बनाउन उपयुुक्त हुने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले आइसोलेसनमा पठाउने संक्रमितको छनौट (लक्षण देखिएका मात्र) वडास्तरबाट हुन सके अस्पतालमा भार कम पर्ने बताए ।
स्थानीय स्तरमा निर्माण गरिएको आइसोलेसनमा अक्सिजनको व्यवस्थापन भने गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा पूर्वी चितवनको कालिका नगरपालिका प्रमुख बाहेक अन्य तीन पालिकाका प्रमुख, राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रसासकिय अधिकृत गंगा बहादुर भुजेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








