बीमा भुक्तानीमा छलकपट : संक्रमण नदेखिएकाहरुले पनि ‘फेक रिपोर्ट’को आधारमा दाबी गर्दै

काठमाडौं । कोरोना संक्रमण नभएकाहरुले पनि कोरोना बीमा दाबी गर्न नक्कली रिपोर्ट लिएर आउन थालेका छन् । अब निजी ल्याबहरुमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ बढी आएको भन्दै बीमा समितिले कम्पनीहरुलाई सरकारी स्वास्थ्य संस्थाबाट नै ल्याएको रिपोर्टमा मात्रै दाबी भुक्तानी दिन निर्देशन दिएको हो ।

बीमा समितिले कोरोना बीमा गराइरहेका निर्जीवन बीमा कम्पनीहरुलाई आज एक पत्र पठाउँदै स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएमा मात्र भुक्तानी गर्ने भनेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले सरकारीमा गरिएको परीक्षणभन्दा निजीमा गरिएको परिक्षणबाट पोजेटिभ आउनेको संख्या बढी हुँदै गएका कारण कार्यविधिमा उल्लेख गरिएको भुक्तानीसम्बन्धी बुँदाबारे पुनः सूचित गराइएको बताए । उनले भने ‘गलत रिपोर्ट बनाएर दाबी गर्नेहरु वृद्धि हुने आशंकामा सरकारीको नै रिपोर्ट चाहिने निर्देशन जारी गरीएको हो ।’

कोरोनाको बीमा नेपालमा मात्रै छ । तर सो बीमा दाबी भुक्तानी गर्दा लाग्ने पीसीआर परीक्षण रिपोर्टको विश्वसनीयतामा बीमा कम्पनीहरु शंका गरिरहेका थिए ।

कोरोना बीमा गर्दा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ भने कोरोना संक्रमण भएको पीसीआर रिपोर्ट पोजेटिभ आउनेबित्तिकै दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था समितिले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *