व्यापारीलाई धम्काउँदै चन्दा असुल्ने पाँच गिरोह पक्राउ, भारतबाट ल्याएका थिए हतियार

- सुजाता लिम्बु
विराटनगर । व्यापारीलाई हतियार देखाएर चन्दा असुल्ने गिरोहका मुख्य नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । विराटनगरका दुईजना व्यापारीलाई हतियार देखाएर चन्दा असुल्ने एक जना भारतीय नागरिकसहित गिरोहका मुख्य नाइकेलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबसाईन नगरपालिका ८ काचन बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार साह रहेका छन् ।
पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हाे । पक्राउ परेका मध्ये गिरोहका मुख्य नाइके अभिषेक राय रहेको र रायले व्यापारीहरूलाई फोन गरि धम्की दिँदै चन्दा असुल्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
एसपी खड्काले भने, ‘गिरोहका मुख्य नाइके अभिषेकले गत असार २५ गते फोन गरि विराटनगरका एक जना व्यापारीलाई डर, त्रास देखाउँदै १० लाख रुपैयाँ चन्दा मागेका थिए । ती व्यापारीले दुई पटक गरि पाँच लाख रूपैयाँ दिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ एसपी खड्काका अनुसार गिरोहरूलाई पहिलो पटक विराटनगरको गुद्रीमा १ लाख र दोस्रो पटक नोबेल हस्पिटल जाने नहरमा चार लाख चन्दा दिएको खुलेको छ ।
चन्दा असुल्न भारतबाट हतियार ल्याए
उक्त गिरोहले व्यापारीलाई धम्काउँदै चन्दा असुल्नका लागि भारतबाट हतियार (पेस्तोल) भित्र्याएका थिए । प्रहरीले पेस्तोल र त्यसमा लाग्ने तीन थान गोली पनि बरामद गरेकाे छ । ‘पहिलो पटक चन्दा मागेका व्यापारीले समयमा पैसा नदिएपछि पक्राउ परेका गिरोहले ती व्यापारीको घरमा धम्काउने उद्देश्यले गोली पनि प्रहार गरेको खुलेको छ,’ एसपी खड्काले भने ।
पहिलो व्यापारीबाट पाँच लाख रुपैयाँ असुलेपछि पक्राउ परेका गिरोहले दोस्रो व्यापारीलाई पनि धम्काएर गत साउन १३ गते चन्दा मागेका थिए भने उक्त व्यापारीले चन्दा दिन नपाउँदै प्रहरीले गिरोहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले ‘हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको एसपी खड्काले जानकारी दिए ।








